कसले बनायो खुमबहादुरलाई मार्ने योजना ?

कसले बनायो खुमबहादुरलाई मार्ने योजना ?


khum-Bhadur-Khadka 33

नेपाली कांग्रेसका प्रभावी नेता खुमबहादुर खड्कालाई एक व्यक्तिले एसएमएस गरी ‘मार्ने योजना’ बनाएको बताएपछि नेपाल प्रहरी उक्त व्यक्तिको खोजीमा लागिपरेको छ । उपचारका निम्ति भारत जानुभएका खड्का गत शनिबार साँझ स्वदेश फर्कनुभएको थियो र उहाँ फर्किनुभएकै भोलिपल्ट आइतबार एनसेलको नम्बर प्रयोग गरी खड्काका स्वकीय सचिव रामेश्वर यादवको नम्बरमा कसैले आपत्तिजनक एसएमएस पठाएको हो ।

एसएमएसमा लेखिएको छ, ‘आज खुमबहादुरलाई मार्ने प्लान भइरहेको छ, बचके रहो ।’ उक्त व्यहोराको सन्देश हत्याका योजनाकारमध्येकै कसैले धम्क्याउनका लागि पठाएको हो या खड्कालाई सचेत गराउनका निम्ति यसो गरिएको हो स्पष्ट हुन सकेको छैन । नम्बर प्रयोगकर्ताको गिरफ्तारीपछि मात्र यसको रहस्योद्घाटन हुने अपेक्षा राखिएको छ । नेपाललाई हिन्दू राष्ट्र बनाइनुपर्छ भनी राष्ट्रिय अभियान चलाउँदै आउनुभएका खड्का २०६३ को राजनीतिक परिवर्तनयता भौतिक रूपमा असुरक्षित रहँदै आउनुभएको छ ।

०६४ को संविधानसभा निर्वाचनअघि तात्कालिक प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र गृहमन्त्री कृष्णप्रसाद सिटौलाले हत्यायोजना बनाएको जानकारी खुमबहादुर खड्कालाई छ । चुनावी मैदानमै माओवादीका नाममा घातक हमला भएपछि खड्का मैदानबाट पछि हट्नुपरेको थियो । उक्त घटना तात्कालिक सरकारको नियोजित योजनामुताबिक भएको नेता खड्काको विश्वास छ । अहिले माओवादी कमजोर भइसकेको, गिरिजाप्रसाद कोइरालाको निधन भएको र कृष्ण सिटौला आफैँ रक्षात्मक अवस्था रहनुभएका बेला खड्कालाई कसले किन हत्या गर्ने प्लान गर्‍यो र किन एसएमएस नै पठाएर जानकारी गराउने काम गर्‍यो भन्ने विषय रहस्यमयी बनेको छ । प्रहरीले एसएमएसकर्ताको पहिचान गरी पक्राउ गर्न सकेमा वास्तविकता खुल्ने विश्वास गरिएको छ ।