नुमाको नाममा नाउँमा एउटा कविता

नुमाको नाममा नाउँमा एउटा कविता


images

– सन्त थलङ

नुमा ! आज म लेखिरहेछु
तिम्रो नाउँमा एउटा कविता
हुन त मेरो कविता
तिमीले गाएको पालामजस्तो लयात्मक छैन
न त तिम्रो ओठमा फुल्ने
मुस्कानजस्तो सुन्दर नै छ
मेरो कविता
तिम्रो शिरफूलजस्तो सजाउन पनि मिल्दैन
कुनै फूलको थुँगाजस्तो
तिम्रो चुल्ठोमा सिउरिन पनि मिल्दैन
तर पनि लेखिरहेछु तिम्रो नाउँमा
एउटा कविता !

चारकुने आँगनको आयतनभरि
च्याब्रुङको धुनसँगै
तिमीले/मैले नाचेको कलात्मक
हाक्पारे र ख्यालीमा गाएको मनको गीत !
सबै–सबै बाँचेकै छन्– स्मृतिमा
सबै–सबै नाचेकै छन्– झझल्कोमा !

साँच्ची नुमा !
त्यो कुनै डिस्कोथेकको मर्काइ र झर्काइ थिएन
न त जाली फुटाल्ने चर्को आवाज मात्र जोर मुटुको तालमा
गुलाबी ओठबाट बगेको प्रेमिल पालाम
सन्नाटामा लहराएको प्रतिध्वनि सुनेर
मैले पनि जवाफ फर्काएको थिएँ– हृदयको गहिराइबाट

आज म तिम्रो नाउँमा लेखिरहेछु
एउटा कविता स्मृतिको गर्तबाट खोतलेर
परीक्षण गरिरहेछु– अतीतको !

त्यो पूर्णेको जून र तिम्रो मुहार
दुवै उस्तै–उस्तै लागेको क्षण
त्यो बाँसुरीको धुन र तिम्रो स्वर–लहरी
उस्तै–उस्तै गुञ्जेको क्षण
मात्र स्मृतिमा बाँकी छन्, स्मृतिमा मात्र बाँकी छन् !

नुमा ! आज लेखिरहेछु म
तिम्रो नाउँमा एउटा कविता
उत्खनन गरेर स्मृतिको गर्तबाट !
नीलो बगेको नदी
र, त्यही नदीको पानीजस्तो तिम्रो मन
पहराबीच फुलेको सुनाखरी
र, उस्तै गुलावी तिम्रो मुस्कान !
सबै–सबै समेटेर लेख्न खोजेको थिएँ
एउटा सुन्दर– तिम्रो मुहारजस्तो कविता
तर खोई !
जसरी भागिदिन्छ क्षितिज– नजिक हुन खोज्दा
जसरी पर–पर पुग्छ मृगमरिचिका छुन खोज्दा
जसरी कहिल्यै भेट हुँदैन घाम र जूनको
जसरी मिलन हुँदैन नदीका दुई किनारको
आज उस्तै भएको छ तिम्रो र मेरो सम्बन्ध
मेरो अनि तिम्रो सम्बन्ध

नुमा ! तिम्रो नाउँमा
मुटुका पत्रहरूमा पट्याएर राखेको छु पालाम अझै पनि
अतीतको गर्तमा– आलै छन् तिम्रा यादहरू
ढलेको छैन विश्वासको फक्ताङलुङ
आउ तिमी र म मिलेर उत्खनन गरौँ– हाम्रा सपनाहरू
र, प्रदर्शन गरौँ आडम्बरी यो समाजमा
र, गाऔँ फेरि लयात्मक पालाम
यी चोक, गल्ली र भीडहरूमा
कि प्रेम मर्दैन– कुनै हत्यारा समयको हातबाट
कि विश्वास ढल्दैन– स्वार्थको क्षणिक हुरीबाट !

नुमा † आज म लेखिरहेछु
तिम्रो नाउँमा एउटा कविता !