राष्ट्रकवि पनि म्युजिक भिडियोमा मोडल !

राष्ट्रकवि पनि म्युजिक भिडियोमा मोडल !


Madhav G

उमेरले शताब्दी छुन लागेका राष्ट्रकवि माधव घिमिरे अझै पनि सिर्जनशीलतामा कति ऊर्जाशील छन् भन्ने कुराको पछिल्लो उदाहरण एउटा म्युजिक भिडियो बनेको छ । पुनर्निर्माणमा एकसाथ जुट्न आह्वान गर्दै धुर्मुस–सुन्तलीको अभिनय रहेको ‘यो प्रण यो समर्पण’ नामक चर्चित म्युजिक भिडियो प्रस्तुत गरिसकेका डा. भीष्मकुमार भुसालको अर्को सिर्जना ‘वाचा’मा राष्ट्रकवि घिमिरेले समेत आफूलाई ‘मोडल’का रूपमा प्रस्तुत गरेका छन् । उक्त म्युजिक भिडियोमा जीवित किंबदन्ती नै बन्न पुगेका अर्का अथक व्यक्तित्व एवम् संस्कृतिविद् सत्यमोहन जोशीको पनि अभिनय हेर्न पाइन्छ । सञ्चारकर्मी प्रणव सुवेदीद्वारा निर्देशित वाचाको छायाङ्कन राजधानीका अलावा नेपालगञ्ज, दाङ, कर्णालीलगायत मुलुकका चर्चित स्थानहरूमा गरिएको हो भने भिडियोमा सञ्चारकर्मी सुवेदीले राष्ट्रकवि माधव घिमिरे, तीनपटकका मदन पुरस्कार विजेता संस्कृतिविद् सत्यमोहन जोशी, गायक शिशिर योगी, युवापुस्ताकी चर्चित राजनीतिज्ञ शान्ता चौधरी, समाजसेवाकी उदाहरणीय पात्र दीक्षा चापागाईं, हुमा भुसाललगायतलाई कलात्मक रूपले प्रस्तुत गरेका छन् ।

भ्रष्टाचारविरुद्धका अभियन्ता डा. भुसालले देशलाई घुस तथा कमिशनमुक्त पार्न कर्मचारी, नेता, व्यापारी, आमनागरिक सबैको उत्तिकै भूमिका हुने सन्देश ‘वाचा’मार्फत दिएका छन् । पुनर्निर्माणको काममा पनि कहीँकतै भ्रष्टाचार नहोस् भन्ने उद्देश्यले सर्जक भुसालले यो सिर्जना प्रस्तुत गर्न खोजेको आभास हुन्छ । भीष्मकुमारको शब्द रहेको ‘वाचा’मा लोकप्रिय सङ्गीतकर्मी शिशिर योगीको कर्णप्रिय स्वर तथा सङ्गीत रहेको छ ।