धुर्मुस–सुन्तलीपछि सुनिता पनि फिल्डमा

धुर्मुस–सुन्तलीपछि सुनिता पनि फिल्डमा


Sunita Dulal 4

यो दृश्य हो सिन्धुपाल्चोक जिल्लाको । विकट गोल्चे गाविसमा रहेको घिउलदेवी निमाविका छात्रछात्रालाई लोकप्रिय लोकगायिका सुनिता दुलालले शैक्षिक सामग्री प्रदान गरेकी छिन् । भूकम्पले भत्किएको विद्यालयमा बनेको अस्थायी टहरोमा सञ्चालित उक्त विद्यालयका बालबालिकाको दयनीय अवस्था देखी मन पग्लिएर आफू सानै भए पनि सहयोग उपलब्ध गराउन उत्प्रेरित भएको सुनिताको कथन छ ।

कापी, कलम र नयाँ पोसाक लाउन पाउने खबरले उत्साहित बालबालिका आफूलाई मनपर्ने गायिकालाई नजिकैबाट हेर्न पाइने खबरले पहिले नै रोमाञ्चित भएका थिए । पछि उपहार–सामग्रीसहित विद्यार्थी भाइ–बहिनीसँग सुनिताले रमाइलो पाराले भेट गर्दा उनीहरू दङ्ग परेका थिए । बालबालिकालाई शैक्षिक सामग्री मात्रै हस्तान्तरण नगरी उनले मायालु पाराले घुलमिल हुँदै कुराकानी गरिन् र उक्त विद्यालयमा अध्ययन गर्ने २ सय ४० विद्यार्थीलाई शैक्षिक सामग्री एवम् विद्यालय पोसाक हस्तान्तरण गरिन् । भूकम्पप्रभावित सिन्धुपाल्चोकका अन्य विद्यालयमा पनि सुनिताले यस्तै सहयोग गर्दै आएकी छिन् । धुर्मुस–सुन्तली जोडीले भूकम्पबाट पीडित नागरिकलाई बास उपलब्ध गराउने कार्यमा पुर्‍याउँदै आएको योगदानबाट आफू प्रेरित भएको र दाताहरूबाट सहयोग जुटाएरै भए पनि सहयोग कार्यलाई निरन्तरता दिने वाचा उनले गरेकी छिन् ।