एक घन्टा उकालो चढेर राजदूतले यसो भने

एक घन्टा उकालो चढेर राजदूतले यसो भने


22 PR Main Pic

नेपालका लागि भारतीय राजदूत रन्जित रेले नेपाल–भारत सम्बन्ध नयाँ अध्यायबाट सुरु भएको र दुई देशबीचको सम्बन्ध कसैले बिगार्न चाहेर बिग्रन नसक्ने दाबी गर्नुभएको छ । धादिङको चामभञ्ज्याङ खानेपानी परियोजनाको शिल्यान्यास गर्दै राजदूत रेले नेपाल–भारत सम्बन्ध अब विकासको माध्यमबाट अघि बढ्ने र यो प्रगाढ सम्बन्धलाई कसैले बिगार्न नसक्ने बताउनुभयो । भारत सरकारले नेपाललाई राजनीतिक स्थायित्वसहित आर्थिक रूपमा बलियो भएको हेर्न चाहेको उल्लेख गर्दै उहाँले दुईदेशबीचको ऐतिहासिक सम्बन्ध आगामी दिनमा विकासको एजेन्डाबाट अघि बढ्ने विश्वास प्रकट गर्नुभयो । भारत सरकार नेपालको तीव्र विकासको लागि भौतिक पूर्वाधार, ऊर्जा, शिक्षा, स्वास्थ्यलगायत खानेपानीमा विशेष सहयोग गर्न तयार रहेको उहाँको कथन थियो ।

धादिङका स्थानीय विकास अधिकारी भगवान अर्यालको सभापतित्वमा आयोजित शिल्यान्यास समारोहलाई सम्बोधन गर्ने क्रममा राजदूत रेले नेपालमा महाविनाशकारी भूकम्प आउँदा भारतले आफ्नै देशमा भूकम्प आएको महसुस गर्दै सहयोग गरेको स्मरण गर्दै मित्रतामा कहिलेकाहीँ सम्बन्ध चिसो–तातो भए पनि त्यसले मित्रतालाई झनै प्रगाढ बनाउने मद्दत पुग्ने तर्क गर्नुभयो । गत १७ गते अविरल झरीका कारण सडक हिलाम्य बनेर सवारी आवतजावत ठप्प हुँदासमेत एक घन्टाको पैदल उकालो हिँडेर कार्यक्रमस्थल पुग्नुभएका राजदूत रेले उक्त खानेपानी परियोजनाका लागि पत्रकार ऋषि धमलाले विशेष रूपमा आफूलाई घच्घचाएको खुलासा पनि गर्नुभएको थियो । कार्यक्रम स्थलमा स्थानीय बासिन्दाले राजदूत रेलाई गोलभन्ज्याङ, सिम्लेदेखि टोड्केभन्ज्याङसम्मको बाटो पिच गर्न र ज्यामरुङस्थित भूकम्पले क्षतिग्रस्त शंकादेवी उमाविको पुनर्निर्माणका लागि भारत सरकारले सहयोग गरिदिनुपर्ने मागसहितको ज्ञापनपत्रसमेत बुझाएका थिए ।

शिलान्यास समारोहमा नेकपा एमालेका नेता राजेन्द्र पाण्डेले भारतले नेपालको हरेक क्षेत्रको विकासमा निरन्तर सहयोग गरिरहेको भन्दै खुसी व्यक्त गर्नुभयो भने अर्का एमाले नेता तथा सांसद गुरुप्रसाद बुर्लाकोटीले पनि भारत सरकारले नेपालको भौतिक पूर्वाधारदेखि लिएर शिक्षा, स्वास्थ्यलगायत महत्त्वपूर्ण क्षेत्रमा सहयोग पुर्‍याउँदै आएको उल्लेख गर्दै चामभन्ज्याङमा खानेपानी आयोजनामा सहयोग गरेर भारतले ठूलो गुन लगाएको बताउनुभयो । यस्तै, नेपाली काङ्ग्रेस धादिङका सभापति रमेश धमला, निवर्तमान सभापति रामनाथ अधिकारी, राप्रपाका नेता तथा सांसद पर्शुराम तामाङ, सञ्चारकर्मी ऋषि धमलालगायतले नेपालको विकासको लागि भारतको सहयोगको अनिवार्यताबारे प्रकाश पारेका थिए ।

भारत सरकारको सहयोगमा निर्माण हुने चामभञ्ज्याङ खानेपानी परियोजनाको लागत एक करोड ७८ लाख रहेको छ भने उक्त परियोजनाबाट एक सय ५९ घरधुरीले प्रत्यक्ष लाभ लिनेछन् ।

22 pr tika receiving