एड्रियन पनि विद्यालय पुनर्निर्माणमा

एड्रियन पनि विद्यालय पुनर्निर्माणमा


हास्य कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरे सिन्धुपाल्चोकको गिरानचौरमा भूकम्पपीडितका लागि नमुना बस्ती निर्माणमा जुटिरहेका बेला अन्य गायक तथा सङ्गीतकारसमेत समाजसेवामा लागेका छन् । केही दिनअघि गायक प्रमोद खरेलले दोलखाको एउटा विद्यालय भवन पुनर्निर्माण गर्न त्यहीँ गएर साङ्गीतिक कार्यक्रमसहित आर्थिक सहयोग प्रदान गरेका थिए भने यसै क्रममा पपगायक एड्रियन प्रधान र उनका साथीहरूले काभ्रेपलाञ्चोकको होक्सेमा रहेको जनता उमावि पुनर्निर्माणका लागि आर्थिक सहयोग जुटाउन काठमाडौंमा गीत–सङ्गीत प्रस्तुत गरे । ‘मिरमिरे युथ सोसाइटी’को प्रस्तुतिमा भएको ‘शान्ति फेस्टा २०१६’ नामक साङ्गीतिक कार्यक्रममा एड्रियन र उनका साथीका साथै अनिल शाही, मिलन अमात्य र रोज मोक्तानले गीत गाए, जहाँ नीलम ढुङ्गानाले नृत्य प्रस्तुत गरिन् । कार्यक्रम शनिबार आयोजना भएको हो ।

‘मिरमिरे शिक्षाका लागि सङ्गीत’ भन्ने मूल नारा रहेको कार्यक्रमले गत वर्षको वैशाखमा गएको भूकम्पले ध्वस्त भएको सो उच्च माविको भवन निर्माण गर्नेछ । सो विद्यालयका पाँच सय ६० विद्यार्थी हाल टहरामा पढ्न बाध्य भएकाले भवन पुनर्निर्माण गर्न यस्तो कार्यक्रम गर्न लागिएको मिरमिरे युथ क्लबका अध्यक्ष राजीव थापाले बताए । उनका अनुसार साङ्गीतिक कार्यक्रममार्फत १५–२० लाख उठाउने लक्ष्य लिइएको छ ।