आफैँविरुद्ध

आफैँविरुद्ध


Motiraj Bam

– मोतीराज बम

को लेख्दैन र कविता आजकाल !
ए † कवि तिमी व्यर्थैमा मुढे अहंकार गर्छौ,
र भन्छौ
मैले मजदुरको बारेमा कविता लेखेँ
मैले दरिद्रको बारेमा कविता लेखेँ
मैले परिवर्तनका बारेमा कविता लेखेँ
मैले मानव र मानवीयताका बारेमा कविता लेखेँ
मैले राष्ट्र र राष्ट्रियताका बारेमा कविता लेखेँ
मैले सुमार्गी र अग्रगामी कविता लेखेँ
मैले कहाँ बाँकी राखेँ र ? कविता लेख्न संसारमा
कसलाई छोइनँ र मैले कवितामा ।
एकछिन राम्ररी सोच त कवि
ठण्डा दिमागले !
जसलाई सम्बोधन गर्दै छौ तिमी
तिनीहरू
आफैँ कवि हुन्, आफैँ कविता हुन्
तिमीले सजाएका बिम्ब
तिमीले बनाएका शब्दका सुन्दर महल
के मान्छेभन्दा भिन्न छन् ?
के प्रकृतिभन्दा भिन्न छन् ?
के स्वभाव र सौन्दर्यभन्दा भिन्न छन् ?
के नियति र पद्धतिभन्दा भिन्न छन् ?
ए कवि फेरि तिमी
बारीमा, नाकजत्रो घिरौला हुँदैन
घिरौँलाजत्रो नाक बनाएर भन्छौ
मैले गालिवलाई पढेँ
मैले मार्खेजलाई पढेँ
मैले बर्तोल्त ब्रेख्तलाई पढेँ
मैले गोर्कीलाई पढेँ
मैले माक्र्सलाई पढेँ
मैले गान्धीलाई पढेँ
मैले बीपीलाई पढेँ
ए † कवि छातीमा हात राखेर भन
तिमीले –
आफ्नै आमाको गन्हाउने चोलो पढ्यौ ?
आफ्नै बाबाको खुइलिएको थाप्लो पढ्यौ ?
आफ्नै दिदीको च्यातिएको पटुका पढ्यौ ?
पैरोले पुरिएको आफ्नै गाउँ र
बाढीले बगाएको आफ्नै बगर पढ्यौ ?
बरु तिमीले,
लिम्बुनी र तामाङ्नीको तोङ््वा पढ्यौ
भोटेनी र मगरनीको छ्याङ पढ्यौ
नेवारनीको वासा पढ्यौ
ए ! कवि अरू भन्दै जाउँ ?
किनकि, म पनि कवि हुँ
त्यसैले आज म आफैँविरुद्ध छु ।