नेपाल साझा घर

नेपाल साझा घर


Rajendra Pathak 'Sagar'


– सागर

वर्षामा खेतमा खडेरी पर्दा चिरा परेका नहुन् ।
नागवेली वनमा फलेका फलमा कीरा परेका नहुन् ।।
ऋतुका बलले फुलेका फूलमा हाँसी खुसी रै’रहुन् ।
झरना कलकल बगेका जलमा स्वच्छन्दता भै’रहुन् ।।

हरियाली वनका सदा हराभरा कुन काव्यले के कहुन् ।
चिन्नै आतुर को हो ? को हो ? भनिर’ने कोकिलीले गाइरहुन् ।।
डाँफे कल्की लतारी भूमण्डलमा प्रेम पिरती लाइरहुन् ।
हात्ती, गैंडा चराचर वनमहा खाजाभुजा खाइरहुन् ।।

श्वेता शिखर हिमाली हिउँमा झन् अग्लिँदे गैरहुन् ।
तराई समथर बयली खेल्दै सुनकेसरी भैरहुन् ।।
पहाडी पहरा झरेका झरना सुसाउँदै गैरहुन् ।
नेपाली ओठमा फूलेका फूल ती खुसाउँदै गैरहुन् ।।

बेसी गल्छी गौंडा र गहिरा झन् गहिरिँदै गैरहुन् ।
लाखौँ लाख वर्षसम्म मेरी धर्ती पृथ्वीमा रैरहुन् ।।
नेपाली भूमिमा नहेपिने गरी वीर गोर्खाली भैरहुन् ।
बेरेर पटुकी भिरेर खुकुरी दौरा–सुरालमै रहुन् ।।

टोपी चुच्च चुचुरो सगरतक हुने त्यै वीरका चिनो हुन् ।
सीमापारि समुद्रतक हुने नेपाली नै भइरहुन् ।।
नेपाली मनका हिमाली वनका जुन जात र जाति हुन् ।
भोजपुरी मैथली दुरा र दनुवार जुन भाषा र भाषी हुन् ।।

क्वै केही नभनी सुरा वीरहरू गोर्खालीकै जात हुन् ।
देशका खातिर सदा लडिरहने जोडिएका हात हुन् ।।
मै हुँ भन्ने घमण्ड मनमण्डलमा केही छैन रत्तिभर ।
हिमाल पहाड तराई बनी गो ‘नेपाल साझा घर’ ।।२।।