पीडा बिर्सन जसले मदिराको साथ रोजे

पीडा बिर्सन जसले मदिराको साथ रोजे


29 Fun pic 1

फिल्म इन्डस्ट्रीमा सफल मानिएका कलाकारहरू आफ्नो रूप, प्रतिभा वा अभिनय क्षमताका कारण चर्चामा रहनु कुनै अनौठो कुरा मानिँदैन । वास्तवमा उल्लेखित गुणकै माध्यमबाट कलाकारले आफ्नो अस्तित्व बचाइरहेको हुन्छ । तर, शारीरिक सौन्दर्य र अभिनय प्रतिभाका अलावा अन्य कुराले पनि कलाकारलाई चर्चामा ल्याइदिन्छ । कुनै पनि सफल अभिनता–अभिनेतृका बाहिरी रूप जेसुकै भए पनि भित्रभित्रै उनीहरू पनि आफ्नै प्रकारका वेदना बोकेर बाँचिरहेका हुन्छन् । र, त्यस्ता व्यथा–वेदना मेटाउने अभिप्रायले ती मदिराको लतमा फसेका हुन पनि सक्छन् । कतिपय कलाकर्मी त फिल्ममा गरेको अभिनयभन्दा मदिरा सेवनकै कारण बढ्ता चर्चामा रहेका उदाहरण पनि भेटिन्छन् । यसप्रकार, बलिउडका चर्चित केही अभिनेतृको ‘मदिरा–लत’ बेलाबेला चर्चाको विषय बन्ने गरेको छ ।

जस्तो कि, हिन्दी सिनेमाकी ‘ट्रेजेडी क्विन’ कहलिएकी आफ्नो जमानाकी अत्यन्त सफल एक्ट्रेस मीनाकुमारी मदिरा सेवनको लतमा नराम्रोसँग फसेकी थिइन् । प्रेम सम्बन्धमा व्यवस्थापन गर्न नसक्दा उनी त्यस्तो कुलतमा फसेको विश्वास गरिन्छ । अत्यधिक शराव पिउने आदतकै कारण केवल ३९ वर्षको उमेरमा उनको देहान्त भएको थियो ।

यस्तै, अर्की प्रसिद्ध नायिका राखी पनि कुनैबेला अत्यधिक मदिरा सेवन गर्ने आदतको सिकार भएकी थिइन् । आफ्ना पूर्वपतिले मीनाकुमारीसँग मिलेर धोका दिएपछि उनले मदिरालाई साथी बनाएकी थिइन् । मनको व्यथा भुलाउन मदिरा असफल बनेपछि उनी पुन: त्यसको चपेटाबाट मुक्त हुन सफल भएकी थिइन् ।

बलिउडमा एकताका ‘सेक्स सिम्बल’ कहलिएकी सिल्क स्मिताको करिअर एकाएक चुलिएको थियो । उनको मस्त शरीर र होसै उडाउने चालढालका कारण फिल्म इन्डस्ट्रीमा उनी छाउन पुगेकी थिइन् । तर, जसरी सिल्क स्मिताले लोकप्रियता कमाएकी थिइन्, उसैगरी लोकप्रियताको ग्राफ एकाएक खस्किन पुग्यो, जसलाई उनले झेल्नै सकिनन् । त्यसपछि मदिराको काखमा पुगेकी उनी फेरि कहिल्यै त्यसबाट उम्कन सकिनन् ।
सुन्दैमा आश्चर्य लाग्न सक्छ कि सुप्रसिद्ध अभिनेत्री एवम् महानायक अमिताभ बच्चनकी पत्नी जया पनि कुनैबेला मदिराप्रेमी बन्न पुगेकी थिइन्, तर यो कुरा सार्वजनिक चर्चाको विषय कहिल्यै बनेन । यसैगरी, नेपालबाट मायानगरी मुम्बई पुगेर अहम् सफलता हासिल गर्न सफल अभिनेतृ मनीषा कोइराला यतिबेला क्यान्सर र डिप्रेसनजस्तो गम्भीर बिमारीलाई जित्दै जिन्दगीको दौडमा सामेल छिन् । तर, कुनै समय यस्तो पनि थियो, मदिरा भनेपछि मनीषा भुतुक्कै हुन्थिन् ।

उल्लिखित चर्चित पात्रका अलावा अन्य कैयन कलाकर्मी छन्, जो उत्रनै नसक्ने गरी मदिराको दलदलमा फसेका छन् । आखिर, पीडा भुलाउने माध्यमको रूपमा मदिराको महिमा नगाउने त कति पो होलान् र ?