नूनथरे बाबाका बोली

नूनथरे बाबाका बोली


Madhusudan Prasad Ghimire

– मधुसुदनप्रसाद घिमिरे

नेपाल बालसाहित्य समाजले बालसाहित्यसम्बन्धी सम्मेलन गर्ने भयो । ०७२ फागुन २४ गते ६ बजे बिहानै हामीले कोटेश्वरबाट यात्रा सुरु गर्‍यौँ । यात्रामा जम्माजम्मी २८ जना साहित्यकार, कलाकार, पत्रकार सम्मिलित थियौँ । शिवरात्रिको दिन परेछ । त्यो दिन पाइलैपिच्छे डोरी टाँगेर पैसा माग्ने बच्चाहरूको नियति नै भनुँ बाटाभरि नै गाडी गुडाउन सजिलोसँग नपाउँदा दिनको एक बजे हाम्रो कार्यक्रम हुने स्थान चन्द्रनिगाहपुर रौतहट पुग्ने अन्दाज भएकोमा बेलुकी सात बजे मात्र हामी उक्त ठाउँमा पुग्न सक्यौँ । त्यो दिन नै हाम्रो कार्यक्रमको उद्घाटन हुने तय भएको रहेछ । तर, ढिला पुग्नुको कारणले कार्यक्रम त्यो दिन हुन सकेन ।

पच्चीस गते हाम्रा सबै कार्यक्रम सौहार्दतापूर्ण वातावरणमा सम्पन्न भयो । त्यसमा प्रमुख अतिथि हुनुहुन्थ्यो डा. चूडामणि बन्धु । त्यहाँका धेरै गन्यमान्य व्यक्तिका साथै स्कुले केटाकेटी विद्यार्थी पनि उपस्थित थिए । काठमाडौंबाट जानेहरूमा नेबासासका अध्यक्ष भिक्टर प्रधान, कार्यसमितिकै डा. शैलेन्दुप्रकाश नेपाल, कार्तिकेय घिमिरे र अन्यमा डा. सुस्मा आचार्य, डा. रामप्रसाद ज्ञवाली, सविता सिन्धु, कथालयका राजीवधर जोशी, शान्ता दाहाल, डा. जयन्ती पौडेल, कलाकार केके कर्माचार्य र अरू धेरै मैले नाम नजानेका विद्वत्वर्ग नै थिए ।

त्यहाँको सबै कार्यक्रम सकिएपछि ०७२ फागुन २६ गते यशु श्रेष्ठको अगुवाइमा हामी सबै घुम्न हिँड्यौँ । चन्द्रपुर नपा चन्द्रनिगाहपुरबाट १३ किमि राजमार्गपूर्व गएपछि बागमती नदीको पुलवारिबाट हाम्रो बस खोलाको तीरैतीर उत्तरतर्फ लाग्यो । कहीँकतै ढुङ्ग्यान बाटो भए पनि ठूलै राम्रो चौडा बाटो हामी नूनथला पुग्यौँ । नूनथला पनि रौतहट नै हो ।

त्यहाँ एक साधुले कहिल्यै ननिभ्ने आगो भनेर अखण्ड धुनी जगाई बसेका रहेछन् । ती साधु त्यहाँ आएको पाँच–सात वर्ष मात्रै भएको रहेछ । उनले त्यहाँको इतिहास बताउन थाले । नजिकै उत्तरतर्फ फर्केको शिवमूर्तितर्फ देखाउँदै उनले भने, ‘यो मूर्ति सिमेन्टले बनाउँदा बनाउँदै गर्दा भूकम्प आयो । मूर्ति भत्कायो । हामीले देख्यौँ– शिव बसेका गोडा र पेटको भाग मात्र । त्योभन्दा माथिको भाग देख्न पाइएन । त्यस स्थानबाट बागमती नदी पारी जानका लागि निकै लामो झोलुङ्गे पुल बनाएको रहेछ । हामी पुल तर्दै पारी गयौँ । कोहीचाहिँ माथि डाँडैमा पुगे । बीचपुल पुगेपछि त्यति पर नजाने भन्दै आधा मानिस बीचपुलबाटै फर्कियौँ ।

nunthar mandir najik

बागमती नदीमा एउटी बच्ची पौडी खेल्दै रहिछिन् । यो नदी कति गहिरो छ भनी तिनलाई सोध्दा हिँडेर वारपार गरी देखाइदिइन् । हामीले त्यहाँको पानी सेचन गर्‍यौँ । धेरैजना समूह भएर हात हल्लाई–हल्लाई बागमतीको बगरमा फोटोहरू खिच्यौँ । वास्तवमा नूनथला त्यो ठाउँ पौराणिक कथनसँग जोडिएको रहेछ । त्यहँका साधुले हामीलाई बताए, ‘करिब दुई सय वर्षभन्दा अगाडि भारतबाट त्यो जङ्गलमा एक साधु आएर बसेका थिए । त्यतिबेला त्यहाँ घनघोर जङ्गल र सर्पहरूको बिगबिगी मात्र थियो । साधुको भाषामा त्यहाँ ठूला नागहरू थिए । त्यहाँ बस्ने बाबालाई जोगीबाबा भनी पुकारिन्थ्यो । ती बाबा हठी स्वभावका थिए । उनी त्यतिबेलै हात्ती चढेर हिँड्थे । क्रमश: त्यहाँ उनले आफ्ना चेलाहरूसमेत तयार पार्दै रहे ।

जोगीबाबा हात्ती चढेर बारा जिल्लाको गढीमाई क्षेत्रमा घुम्न गएका थिए । त्यहँ बाह्र बिगाहको क्षेत्रमा ठूलो जङ्गल छ । जोगीबाबाले त्यहाँ केही दिन बस्ने विचार गरी धुनी जगाउन रूख काट्ने विचार गरेछन् । त्यो रूखबाट रोदनको आवाज आयो रे । जोगीबाबाले तिमी को हौ भनेर सोधेछन्, त्यहाँबाट दवी प्रकट भई भनिछिन्, ‘यो रूख नकाट, यदि काट्यौ भने तिम्रो मृत्यु हुनेछ । म यही रूखभित्र बस्छु । म पनि यहाँ बस्न पाउनेछैन ।’ त्यतिबेला जोगीबाबालाई घमण्डले छोयो रे । उनले भनेछन्, ‘जङ्गलमा सबै रूख काट्न योग्य हुँदैनन् । मैले यही रूख काट्ने प्रण गरेको छु । म यही रूख काट्छु ।’ यसो भन्दै ती बाबाले उक्त रुरू काटी लडाउनासाथ ती जोगीबाबा रगत छादेर ठाउँको ठाउँ परमधाम भएछन् ।

जोगीबाबा बाटामा हिँड्दा वरिपरि देख्नेहरूले बाबाको जय होस् भनेर जयजयकार गर्थे अरे । जोगीबाबापछि त्यहँ भूवानन्द बाबा बसे अरे । त्योभन्दा पछि विद्यानन्द बाबा र सोपछि मौनताबाबा हुँदै गोपालबाबा बस्थे रे । गोपालबाबाले कहिले पनि जनानाको मुख नहेर्ने प्रतिज्ञा गरेका थिए रे । उनले बाहिर कतै जानुपर्दा आफ्ना शिष्यहरूलाई बाटो पन्छाउन लगाएर बाटामा भएका महिलालाई पर पठाएपछि मात्र बाटोमा जनाना नदेखिने गरी गोपालबाबा हिँडडुल गर्थे अरे ।

हाल त्यहाँ बस्ने साधुको भनाइमा त्यहाँ कुनैबेला शिवपार्वती पनि क्रीडा गर्न आउँथे । त्यहीबेला पार्वतीलाई पानी खान मन लागेछ । पार्वतीले त्यहीँ एउटा पानीको मुहान इनार बनाउन लगाउनुभयो अरे । त्यो इनारको अवशेष अझै छँदै छ । त्यहाँको पानी नुनिलो छ । त्यसैले त्यो ठाउँको नाम नै नूनथला भएको हो भन्ने कथन पनि सुन्न पाइयो । उक्त स्थान पहिलेको पौराइ गाविसमा पर्दोरहेछ । हाल नगरपालिकाभित्र परेको छ । त्यस ठाउँबाट वरिपरि बेग्लाबेग्लै हरिया डाँडा देखिएका थिए । भाइ यशुले बताएअनुसार उत्तरतिर मकवानपुर, दक्षिणतिर रौतहट, पूर्व र उत्तरका केही भाग सिन्धुली भनिने छुट्टाछुट्टै थुम्का डाँडाका साथै पूर्वमा सर्लाही बोलिने डाँडाको सिमानाका खोँचमा बहेको बागमती ।

त्यहाँ खाजा खान खासै नपाइने रहेछ । जाँडरक्सी र तारेको माछाका केही पसल थिए । बिस्कुटका पुरिया पनि नदेखिएका होइनन् । पिकनिक स्पट पनि रहेछ । तर, त्यहाँका साधुको चिन्ता थियो, ‘पिकनिक आउनेहरूले यो क्षेत्रलाई फोहोर पारिदिने भए !’ सबैजसो साथीहरू लोकल रक्सी तान्न थाले । सुशीला प्रधानाङ्गले छ्याङ तान्नुभयो । केही नतान्नेहरू खोलाको किनारमा बस्यौँ । मैले मुखाग्रै आउने धार्मिक ग्रन्थका श्लोकहरू सुनाएँ । त्यस्ता श्लोक सुन्नेमा सविना, शान्ता, एकाराम, डा. जयन्ती थियौँ । त्यहाँ दोजियाकी माग्नेलाई भेटियो, हाम्रो मन परोपकारतर्फ मोडियो । सबैबाट गच्छेअनुसार पैसा उठाएर चामल किनिदिने प्रबन्ध मिलाइयो । त्यहाँको रमाइलोलाई स्मृतिमा राखी हामी चन्दै्रनिगाहपुर फर्कियौँ । चन्द्रनिगाहपुर अर्थात् चन्द्रशमशेरले निगाह गरेर जग्गा बाँडेको ठाउँ, जनबोली यस्तै छ । ठूलाले निगाहपूर्वक दिएका हुँदा त्यो ठाउँको नाम नै चन्द्रनिगाहपुर हुन पुगेछ । रौतहटका ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू सहिदपार्क, पौराइबाबा, बागमती नदी, नूनथर नै रहेछन् ।