काठमाडौँ – नेपाली काँग्रेसले प्रस्तुत गरेको सेना समायोजनको प्रस्तावमा नेकपा माओवादीका उपाध्यक्ष नारायण काजी श्रेष्ठले आफूहरु सहमत हुन नसक्ने बताउनु भएको छ ।
आज आयोजित साक्षात्कारमा बोल्दै उपाध्यक्ष श्रेष्ठले काँग्रेस प्रस्ताव अव्यवहारिक र असान्दर्भिक भएको टिप्पणी गर्नुभयो । ‘काँग्रेसको प्रस्ताव शान्ति र संविधानको सुनिश्चितताका लागि आएकै होइन । यो माओवादीलाई धम्क्याउने र लगाउने उद्देश्यले ल्याइएको हो ।’
उहाँले काँग्रेसलाई आफ्नो प्रस्तावमा पुनः विचार गर्न आग्रह गर्दै उहाँले निहुँ खोजेर मात्र समस्याको समाधान हुन नसक्ने धारणा राख्नुभयो । काँग्रेसले सुरक्षा निकायको स्थापित मापदण्ड पूरा गर्ने माओवादी लडाकू लाई मात्र व्यक्तिगत समायोजन गर्ने, समायोजनमा जाने लडाकू को संख्या तोक्ने, समायोजनको मोडलिटि तयार पारेर जेठ १० गतेभित्रमा कम्तीमा लडाकू को रिगु्रपिङ गर्ने सम्मको कार्य गरे मात्रै संविधानसभाको म्याद थप्ने प्रस्ताव अगाडि सारेको थियो ।
संविधानसभाको म्याद थपको विकल्प नरहेको दावी गर्दै उपाध्यक्ष श्रेष्ठले दलहरूले नेपाली जनता समक्ष गल्ती गरेको मा माफी माग्दै शान्ति र संविधान निर्माणको सुनिश्चित आधारसँगै थपिएको समयमा जिम्मेवारी पूरा गर्ने ठोस प्रतिबद्धता व्यक्त गरिनुपर्ने बताउनु भयो । प्रधानमन्त्री झलनाथ खनालको राजीनामा अहिले नआउने स्पष्ट पार्दै उहाँले यद्यपि आफूहरू सबै विषयमा खुल्ला छलफल गर्न भने तयार रहेको बताउनुभयो । – मेस, काठमाडौँ
प्रतिक्रिया