के–के गरे ओलीले ?

के–के गरे ओलीले ?


oli

माओवादीले सरकार छोडेर बाहिरिने निर्णय लिएपछि नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद ओलीको एक मात्र प्रयास माओवादीलाई सरकारको नेतृत्व दिनुहुँदैन भन्ने विषयमा केन्द्रित रह्यो । आफ्नाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता नहुँदै ओलीले आफूपछिको सरकारको नेतृत्व लिन कांग्रेसका नेताहरूसमक्ष प्रस्ताव पठाइसकेका थिए ।

समाचारअनुसार अलिक समय लम्बिँदा कांग्रेसले सरकारको नेतृत्व लिने वातावरण बन्न सक्छ भन्ने ठानेका ओलीले ‘संविधानको धारा २९८ अनुसार नयाँ सरकार गठन नहुने अवस्था रहेको’ दाबी र संविधान संशोधनको आदेश हुनसक्ने अपेक्षासहित सर्वोच्च अदालतमा रिट निवेदन दिने योजना बनाएका थिए । यस सम्बन्धमा प्रधानन्यायाधीश सुशीला कार्कीको मनसाय बुझ्दा उनले सरकारका पक्षमा फैसला दिने सम्भावना नरहेपछि प्रधानमन्त्री ओली राष्ट्रपतिसँगको परामर्शमा पुगेका थिए । राष्ट्रपति विद्या भण्डारीले केही कानुनवेत्ताहरूसँग परामर्श गर्दा उनले संविधान संशोधन गराउने तहसम्म जानसक्ने बाटो फेला पारिनन् । संविधान संशोधनसम्म जाँदा एमालेको भूमिका अपरिहार्य हुने र प्रचण्डलाई प्रधानमन्त्री बन्नबाट रोक्न सक्ने विश्वास ओलीमा रहेको बुझिन्छ । राष्ट्रपतिले पनि संविधान संशोधनसम्म पुर्‍याउन नसकिने जवाफ दिएपछि संविधानको धारा ३०५ अनुरूप बाधा अड्काउ फुकाएर मात्र नयाँ सरकारको गठन गर्नुपर्ने प्रस्ताव सरकारले राष्ट्रपतिसमक्ष राखेको थियो ।

राष्ट्रपतिबाट ‘बाधा अड्काउ फुकाउँदै’ सहमतिको सरकार गठनका निम्ति सात दिनको समय–सीमा दिइएको छ । मंगलबारसम्म सहमतीय सरकार गठनको कुनै सङ्केत देखिएको छैन । आगामी आइतबार (साउन १६ गते) राष्ट्रपतिले दिएको समय–सीमा समाप्त हुँदै छ, त्यसपछि सहमतीय सरकार गठनका लागि समय थप गर्ने–नगर्ने भन्ने विषयको टुङ्गो राष्ट्रपति कार्यालयले लगाउनेछ । नेपाली कांग्रेस सैद्धान्तिक रूपमै सहमतीय सरकारको पक्षमा नरहेकोले सात दिनपछि पुन: यसैका निम्ति भनेर म्याद थपिने सम्भावना कम रहेको छ ।

सहमतीय सरकार गठनको निम्ति दिइएको समय–सीमा समाप्त भएपछि राष्ट्रपतिले बहुमतीय सरकार गठनको निम्ति दलहरूलाई कम्तीमा पाँचदेखि सात दिनको समय दिने सम्भावना छ । राष्ट्रपतिबाट बहुमतीय सरकार गठनका निम्ति समय दिइएपछि ओलीले कांग्रेसलाई एकल सरकार गठनका निम्ति सहयोग गर्ने प्रस्ताव राख्ने बुझिएको छ । आफ्नो नेतृत्वमा सरकार गठन गर्न कांग्रेस कुनै हालतमा तयार भएन भने ओलीले कुन कदम चाल्ने हुन् सो भने स्पष्ट हुन सकेको छैन । नौ महिनापछि प्रचण्डलाई नै समर्थन गरेर कांग्रेसलाई सत्ताको नेतृत्व लिनबाट वञ्चित गराउन ओलीले भूमिका निर्वाह गर्नसक्ने अनुमान विश्लेषकहरूले गरेका छन् ।