प्रधानमन्त्रीको भोज माधवले गरे बहिष्कार

प्रधानमन्त्रीको भोज माधवले गरे बहिष्कार


Madhav

प्रधानमन्त्री खड्गप्रसाद ओलीद्वारा सोमबार राति बालुवाटारस्थित आफ्नो निवासस्थानमा दिइएको रात्रिभोज नेता माधवकुमार नेपालसमेत केहीले घोषणा नगरीकन बहिष्कार गरेको जानकारी प्राप्त भएको छ । संसद्मा ऐतिहासिक महत्त्वको वक्तव्य दिई राजीनामाको घोषणा गरेका प्रधानमन्त्री ओलीले गत सोमबार राति मन्त्री तथा तिनका पत्नीहरू, पार्टी स्थायी समितिका सदस्य तथा श्रीमतीहरू, विभिन्न मन्त्रालयका सचिवहरू, योजना आयोगका सदस्य र केही अति निकटका व्यक्तिलाई भोजमा आमन्त्रण गरेका थिए । भोजमा झलनाथ खनाल, वामदेव गौतम, अमृत बोहरा र सुरेन्द्र पाण्डेलगायत उपस्थित थिए । तर, निमन्त्रणा पाएर पनि नेता माधवकुमार नेपाल, घनश्याम भुसाल, गोकर्ण विष्ट र योगेश भट्टराईलगायत माधव नेपालका खासखास समर्थकले भोजमा सहभागिता जनाएनन् । ओलीनिकटका मानिने राजन भट्टराई, भानुभक्त ढकाल र गोकुल बास्कोटा मन्त्री, सचिव या स्थायी समितिका सदस्य नभए पनि भोजमा आमन्त्रित थिए ।

आफूलाई कुनै न कुनै रूपले सहयोग पुर्‍याउनेहरूलाई धन्यवाद दिने उद्देश्यले प्रधानमन्त्रीद्वारा आयोजित भोजमा नेता नेपाल अनुपस्थित रहनुले पार्टीमा मुख्य नेताबीच उत्पन्न दरारको स्पष्ट सङ्केत दिएको छ । त्यसअघि नेता नेपालले आइतबार (साउन ९ गते) संसद्मा सम्बोधन गर्ने क्रममा पनि अविश्वासको प्रस्तावप्रति असहमति जनाउनमा भन्दा बढी प्रधानमन्त्री ओलीको आलोचनामा समय खर्च गरेका थिए । त्यसरी ओलीको आलोचना गरेपछि माधव नेपाललाई पार्टीभित्र आलोचना गर्नेहरूको सङ्ख्या ह्वात्तै बढेको छ ।