सुन तस्करीको बेग्लै विधि !

सुन तस्करीको बेग्लै विधि !


Birgung

वीरगञ्जलाई ट्रान्जिट प्वाइन्ट बनाएर सुन तस्करी गर्ने उपक्रम विगतको तुलनामा ह्वात्तै बढेको पाइएको छ । केही समययता प्रहरी प्रशासनले सुन तस्करलाई सुनसहित पक्राउ गर्ने कार्यलाई तीव्रता दिएपछि अवैध माध्यमबाट सुन कारोबार गर्न पल्केका व्यवसायीले आफ्नो कारोबारको शैलीमा व्यापक परिवर्तन गरेको बुझिएको थियो । रकम लिएर सुन पास गराउने धन्दामा संलग्न एक सुनभरियाका अनुसार हालका दिनमा वीरगञ्ज नाकाबाट दैनिक १० देखि १४ किलोसम्म अवैध सुनको कारोबार या ओसारपसार भइरहेको छ ।

स्रोतका अनुसार सुन तस्करीमा रोचक विधि अवलम्बन हुँदै आएको छ । तस्करहरू भाडामा महँगो कार लिएर त्यसमा एक युवतीसमेत सवार गराई भारततर्फ सुन पास गराउँछन् । प्रहरी प्रशासनलाई ‘चक्मा’ दिन पारिवारिक सदस्यको रूपमा युवतीलाई कारमा सवार गराइने र आवश्यक पर्दा त्यस्ता युवतीको ‘विशेष’ उपयोगसमेत गर्ने गरिएको स्रोतको दाबी छ । महँगो कार देखेपछि चेकजाँचका लागि बाटोमा खटिएका प्रहरीले आँखै नलगाउने गरेको बुझेर तस्करहरूले उक्त विधि अवलम्बन गरेको बुझिएको छ ।

यसरी सुनको अवैध ओसारपसारमा संलग्न मुख्य व्यवसायीहरूमा वीरगञ्जका नामुद तस्कर राजु खारुका, कुमु प्यालेसनजिक बस्ने गोपाल सोनार, वीरगञ्ज कन्या स्कुलनजिक बस्ने राजा जैन, काठमाडौं न्युरोडका श्रेष्ठ थरका व्यक्ति, वीरगञ्ज घडीअर्वानिवासी मुन्ना र भारत रक्सोलका सोनार थरका व्यक्ति रहेका छन् । यी पात्रहरू चीनदेखि अवैध रूपमा ल्याइने सुनका लगानीकर्ता हुन् भने यस्ता व्यवसायीले तस्करी गर्न लागिएको सुनको आधा तौलबराबर नगद धरौटी राख्न लगाएर तस्करी गर्ने गरेका छन् । भरियाबाटै धोकाधडी हुन थालेपछि यस्तो विधि अपनाउने गरेको सम्बद्ध सूत्र बताउँछ ।

यसरी काठमाडौंबाट वीरगञ्जसम्म पुर्‍याउन भरियाले प्रतिकेजी २ लाख पचास हजारसम्म असुल्ने गरेका छन् भने वीरगञ्जबाट सीमा कटाई भारत प्रवेश गराउन कार, सीबीजेड मोटरसाइकलको ट्याङ्कीमुनि र पल्सर बाइकको सिटमुनिको भाग ‘उपयोग’ गर्ने गरिएको छ । सुनको यस्तो अवैध धन्दाबारे जानकार भएर पनि बारा, पर्सा र मकवानपुरमा कार्यरत केही प्रहरीकर्मीले आँखा चिम्लिएको बुझिएबाट धन्दामा उनीहरूको समेत परोक्ष संलग्नता रहेको अनुमान गरिएको छ ।