ममताले गरिन् रोचक खुलासा

ममताले गरिन् रोचक खुलासा


Mamata Letest 2

करिअरको आरम्भदेखि नै अत्यन्त विवादास्पद हिरोइन कहलिएकी वलिउडकी कुनै जमानाकी अभिनेत्री ममता कुलकर्णी डेढ दशकपछि औपचारिक तवरले मिडियासमक्ष प्रस्तुत भएकी छिन् । माफियासँग मिलेर ड्रग स्मग्लिङमा संलग्न रहेको चर्चासहित आमसञ्चार तथा सोसल मिडियामा समाचार छताछुल्ल भएपछि ढिलो गरी ममता एक भारतीय टीभी च्यानलको क्यामेरासामु उपस्थित भएकी हुन् ।

सुन्दर रूपका कारण सहजै चर्चाको पात्र बनी मिडियामा छाउन सफल भए पनि अभिनय प्रतिभामा ठूलै खोटका कारण ममता नायिकाको रूपमा वलिउडमा जम्न सकिनन् । अत्यन्त चञ्चल र महत्त्वाकाङ्क्षी स्वभावका कारण अभिभावकहरूसँग समेत झगडा गरेर अल्लारे उमेरमै घर छोडेर थप चर्चा कमाएकी ममता स्वतन्त्र हुन खोज्दा सिनेमामा झन् असफल बनेकी थिइन् । त्यसपछि बिस्तारै वलिउडको जगमगबाटै ओझेल पर्न थालेकी उनी एक दशकयता त गुमनामजस्तै हुन पुगिन् । यस्तैमा केही साताअघि ड्रग स्मग्लिङसँग जोडिएर ममता समाचारको विषय बनेकी थिइन् । नकारात्मक चर्चा चुलिएपछि आरोपको खण्डन गर्न उनी बाध्य भएर क्यामेरासामु उभिनुपरेको चर्चा छ ।

यतिबेला बेलुनजस्तै फुलेको शरीरमा देखापरेकी ममताले बिक्की नामक ड्रग स्मग्लरसँग आफ्नो बिहे भएकोदेखि आफू ड्रग्स कारोबारमा रहेको भन्नेसम्मका कुरा फजुल भन्दै अस्वीकार गरेकी छिन् । निराधार कुरालाई मिडियाले हौवा तुल्याएकोमा आफू दु:खी रहेको ममताको भनाइ छ । आफू पैसाको पछि नलागेको दाबी गरेकी उनले आफ्नो बैंक खातामा जम्मा पच्चीस लाख मात्र रहेको खुलासा गरेकी छिन् । यति मात्र होइन, विगत १२ वर्षदेखि आफू अध्यात्ममा लागेको भन्दै यो अवधिभर एकपटक पनि यौन सम्बन्ध नराखेको रोचक अभिव्यक्तिसमेत उनले दिएकी छिन् ।