आयल निगमका कर्मचारीले लाज जोगाऊन्

आयल निगमका कर्मचारीले लाज जोगाऊन्


कहिले निगम घाटामा गएको बहाना बनाएर त कहिले मूल्य समायोजनको नाममा पटक-पटक इन्धनको मूल्य बढाउने नेपाल आयल निगमका कर्मचारीहरू २२ करोड बोनस बाँडेर खान ठिक्क परेको बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यसो नगर्न रोक लगाएको समाचार प्रकाशमा आयो । वर्षौंंदेखि घाटामा चलेको भनिएको निगम करोडौं रकम बोनस बाँड्न सक्ने हैसियतमा कसरी देखियो – के बोनस भनेको कुनै पनि कम्पनी वा कारोबारी संस्थाले मुनाफा आर्जन गर्न सकेको अवस्थामा सेयरधनी, कर्मचारी तथा सम्बन्धित सरोकारवालाहरूलाई वितरण गर्ने रकम होइन र – जब नाफा गर्नै नसकेर मासिक व्ययभार बढेकोबढ्यै छ, भनेको बेलामा उपभोक्ताले चाहेजति इन्धन आपूर्ति गर्न नसकिरहेको अवस्था छ भने बोनस खान आयल निगमका कर्मचारीले किन यसरी मुख बाएका होलान् – त्यसमाथि बोनस खान नपाए हड्तालमा उत्रने निर्णय पनि उनीहरूबाट भएको छ अरे । उनीहरूलाई अलिकति पनि देश र आमजनताको अवस्थाप्रति सचेतना छ भने घाटामा रहेको संस्थाबाट बोनस खाने कल्पना गर्न पनि सरम लाग्नुपर्ने हो । उनीहरूले यो पनि पक्कै बुझ्नुपर्ने हो कि केही सय व्यक्तिको सुखसुविधाका निम्ति लाखौंलाई अपच हुने व्यवहार गर्दा त्यसको परिणति हरदम नकारात्मक नै हुन्छ । यसै पनि देशका नेता र कर्मचारीहरू भ्रष्ट र स्वार्थी भइदिनाले मुलुक अधोगतिको अन्तिम सतहमै पुगेको कुराले विश्वप्रचार पाएको छ । यस्तो परिवेशमा देशको इज्जत जोगाउने दायित्वको एक सानो अंश त आयल निगमका कर्मचारीहरूको पनि त हुन्छ होला नि, होइन र –
– विश्वास मित्र, हाल : काठमाडौं