प्रचण्डको कदम राष्ट्रघाती भएको आरोप

प्रचण्डको कदम राष्ट्रघाती भएको आरोप


– मनिता चाम्लिङ (धरान)

19 Manita pic

कामचलाउ सरकारका सुचना तथा संचार प्रविधिमन्त्री शेरधन राईले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आत्माघाती र राष्ट्रघाती कदम चालेकोले यसको ठुलो मुल्य चुकाउनुपर्ने बताएका छन् । शुक्रबार धरानमा प्रेस चौतारी सुनसरी जिल्ला कार्य समितिले गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री राईले एमालेको सरकार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ढाले पनि पहिलोपटक एमालेले इतिहासमै देश र जनताको शिर उठाउने काम गरेको दाबी गरे ।

एमालेले आफ्नो बाटो आफै बनाऔँ अभियानअन्तर्गत हेटौँडा–काठमाडौको फास्ट ट्रयाक सुरु गरेकोमा प्रचण्डले आफ्ना नेतृत्वमा सरकार बनाई फास्ट ट्रयाकको काम भारतलाई जिम्मा लगाउन लागेकोे ठोकुवा गर्दै उनले भने, ‘हामीले सुनैका छौँ प्रचण्ड नेतृत्वको सरकार बन्दै छ र सरकार बन्ने बित्तिकै प्रचण्डले फास्ट ट्र¥याक भारतलाई जिम्मा लगाउनेछन् ।’

फरक प्रसंगमा मन्त्री राईले एमाले सरकारले ल्याएको जनतामुखी बजेट देख्न नसकेर विपक्षीहरु एमालेविरुद्ध षड्यन्त्र रचेको आरोप पनि लगाए । अब बन्ने सरकार माओवादी केन्द्रले कुन जगमा टेकेर बनाउने हो त्यो आफुहरुले हेर्न चाहेको उनको कथन थियो ।

अधिकांश समय आफ्ना पार्टीको बखानमै गुजारेका मन्त्री राईले आफुहरुले ल्याएको बजेटमा समाजिक सुरक्षा भत्तालाई दोब्बर बनाएको र श्रमजिवी पत्रकारहरुको लागि दुर्घटना बिमालगायत सरकारी अस्पतालहरुमा ५० प्रतिशत छुटको व्यावस्था गरेको समेत जानकारी दिए । उनले आफ्नो पार्टी सरकारमा नगई प्रतिपक्षमा बसेर सरकारको काम कार्बाही हेर्ने मात्र नभई कडा प्रतिपक्षिको भुमिका निर्वाह गर्ने खुलासा गरे ।