ओलीबाट पाठ सिक्न काङ्ग्रेस नेताको सुझाव

ओलीबाट पाठ सिक्न काङ्ग्रेस नेताको सुझाव


chandra-bhandarii

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् सांसद चन्द्र भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीबाट सबैले पाठ सिक्नुपर्ने सुझाव दिएका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रियता र स्वाभिमानका सवालमा देखाएको व्यवहार अनुकरणीय भएको भन्दै अब बन्ने नयाँ सरकारले ओलीबाट पाठ सिक्नुपर्ने तर्क उनले गरे । गत शनिबार गुल्मी सम्पर्क समाज रूपन्देहीको पाँचाँै अधिवेशनलाई सम्बोधन गर्दै सांसद भण्डारीले बीपी कोइराला र मदन भण्डारीपछि अब प्रधानमन्त्री ओलीबाट सबैले पाठ सिक्नुपर्ने बताए । गुल्मी क्षेत्र नं. २ का सांसद भण्डारीले गुटका कारण एमालेभित्रैबाट केपी ओलीको आलोचना गरिए पनि प्रधानमन्त्री ओली सफल प्रधानमन्त्री रहेकोमा विवाद गर्नै नपर्ने अभिव्यक्ति दिए ।

राजनीतिक अस्थिताका कारण देशमा आर्थिक विकास हुन नसकेको भन्दै नेता भण्डारीले नेताहरू मात्र नभई मुलुकको प्रशासन सम्हाल्ने ९० प्रतिशत नै भ्रष्ट हँुदा यस्तो दूरावस्था खेप्नुपरेको दाबी गरे । पढेलेखेका युवाहरू विदेश पलायन हुने र नपढेकाहरू राजनीतिमा आएकाले पनि राजनीतिक स्थिरता हुन नसकेको उनको कथन थियो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य लीला गिरी, पाल्पा प्रजिअ बालकृष्ण गौतम, कपिलवस्तु प्रजिअ इन्दु घिमिरे, नवलपरासी प्रजिअ महादेव पन्थ, गुल्मी सम्पर्क समाज रूपन्देहीका सल्लाहकार बालकृष्ण भुसाललगायतले पनि मन्तव्य राखेका थिए । सो अवसरमा स्थानीय बेलबहादुर कार्कीले शंकरनगर बनवाटिकामा करिब एक करोड रुपैयाँ मूल्य पर्ने जग्गा समाजलाई प्रदान गरेका थिए भने बालकृष्ण भुसालले मन्दिरमा लाग्ने पुजारी खर्चका लागि पाँच लाखको चेक हस्तान्तरण गरेका थिए ।
– चन्द्रकान्त खनाल