बेलायतमा बेरोजगारको संख्यामा कमी

बेलायतमा बेरोजगारको संख्यामा कमी


लण्डन । तथ्यांकले देखाएअनुसार बेलायतमा आर्थिक मन्दीको प्रभाव भएयतादेखि दोश्रोपल्ट बेरोजगारी संख्यात्मक हिसाबमा घट्दै गएको समाचार प्रकाशमा आएको छ । विगत तीन महिनाभित्र मार्चको अन्तिममा प्राप्त गरेको तथ्यांकमा ३६ हजार बेरोजगार व्यक्तिहरुले काम पाएका छन् । हाल बेरोजगार रहने व्यक्तिहरुको संख्या चौबीसलाख साठी हजार छन् ।
बेलायतको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएअनुसार हाल बेलायतमा बेरोजगारीको संख्या सात दशमलव सात प्रतिशत रहेको जानकारी दिएको छ । १६ वर्षदेखि २४ वर्षभित्रका उमेरका व्यक्तिहरु ९ लाख ३५ हजार बेरोजगार रहेको जानकारी प्राप्त भएको छ । यो कूल संख्याको २० प्रतिशत हुन आउँछ । तर, बेरोजगार भत्ता खानेहरु अप्रिल महिनामा १२ हजार ४ सय बढेर भत्ता खानेहरुका संख्या चौदह लाख सत्तरी हजार पुगेको कुरा सम्बन्धित कार्यालयले जनाएको छ । आर्थिक मन्दीपूर्व २ करोड ९५ लाख ६० हजार मानिसहरु रोजगारमा रहेका थिए, तर, आर्थिक मन्दी शुरु भएदेखि धेरै मानिसहरुको जागीर गुमेर धेरै संख्यामा बेरोजगार रहेका थिए । त्यसपछि अहिलेसम्म एकलाख अठारह हजार मानिसहरुले पुनः रोजगार प्राप्त गरेपछि रोजगार गर्नेहरुका संख्या बेलायतमा २ करोड ९२ लाख ४० हजार रहेको सम्बन्धित निकायले जानकारी दिएको छ । रोजगार बृद्धि हुँदै जानु आर्थिक विकासको द्योतक हो भनेर अर्थविदहरुले भनेका छन् । वर्क फाउन्डेशनका इयान व्रिङ्कलेले …. पूर्णकालीन् रोजगारमा उल्लेखनीय बृद्धि हुनुको मतलब आर्थिक विकास सुदृढ हुँदै आएको लक्षण हो …. भनेका छन् । सम्बन्धित निकायले दर्शाएअनुसार बेलायतको आर्थिक विकासमा अहिले शून्य दशमलव पाँच प्रतिशत बृद्धि भएको जानकारी दिएको छ । श्रोत – बीबीसी, सुमल, मेस ।