वीरगञ्जका ‘ल्याब’मा यस्तो लापरबाही !

वीरगञ्जका ‘ल्याब’मा यस्तो लापरबाही !


Lab Test

के तपाईं वीरगञ्जका ल्याबमा भिडियो एक्सरेलगायत रगत, दिसा, पिसाब टेस्ट गराउँदै हुनुहुन्छ ? त्यसो हो भने सावधान रहनुस् † वीरगञ्जका प्रायजसो ल्याबमा अहेव गरेका व्यक्तिहरू नै बिरामीका रगत, दिसा–पिसाबको टेस्ट गरिरहेका भेटिन्छन् । तराईका विभिन्न जिल्लामा यतिबेला भाइरल ज्वरोको प्रकोप फैलिएको छ । वृद्ध, महिला, बच्चा एवम् युवासमेत भाइरल ज्वरोको चपेटामा परेका छन् । यस्ता बिरामी अस्पताल–क्लिनिकमा जाँच गराउन जाँदा धेरैजसो चिकित्सकले वीरगञ्जका ‘चर्चित’ मंगलमय डाइग्नोस्टिक, सञ्जीवनी डाइग्नोस्टिक, एमसी अस्पताललगायतमा गई ल्याब टेस्ट गराउन सिफारिस गर्छन् । यसमा चिकित्सकहरूको कमिसनको खेल लुकेको कुरा त सम्बन्धित सबैले सहजै बुझ्छन्, तर सिफारिस गरिएका ल्याबमा सम्बन्धित विज्ञ नभई अहेवले नै रगत, खकार, दिसापिसाब आदि जाँचेर रिपोर्ट लेख्ने गरेका छन् भन्नेचाहिँ सायदै कसैलाई जानकारी होला । अहेवले रिपोर्ट तयार गर्ने पछि त्यसमा कुनै चिकित्सकले हस्ताक्षर गर्ने गरिएको छ । वास्तवमा बिरामीको उपचारप्रति गरिएको यो सामान्य लापरबाही नभई जीवनमाथिकै खेलवाड हो ।

दिनभर बिरामीको चाप बढेकोले सबै बिरामीको रगत आदिको टेस्ट गर्न चिकित्सकले नभ्याउने हुँदा अहेवबाटै काम चलाउने गरेको एक ल्याबका कर्मचारी बताउँछन् । यसरी ‘अनाडी’ पात्रले रगत आदिको चेकजाँच गर्दा केमिकलको मात्रा मिलाउन नजानी रिपोर्ट नै सही वा वास्तविक नआउने गरेको घटना सार्वजनिक भएको छ । वीरगञ्ज उपमहानगरपालिका–१४ निवासी सविता भण्डारीको अप्रेसन गरेर बच्चा भएपछि उनलाई रगतको अभाव भयो । ब्लड डोनर्स एसोसिएसन पर्साबाट ४ पिन्ट रगत चढाएर हेमोग्लोबिन जाँच गर्न डाक्टरले सल्लाह दिएपछि भण्डारीका श्रीमान्ले मंगलमय डाइग्नोस्टिकमा चेक गर्दा हेमोग्लोबिनको मात्रा ७.४ देखाएको थियो भने सोही दिन एमसी अस्पतलमा चेक गराउँदा ७.१० देखियो । टेस्ट गर्दा केमिकलको मात्रा बढी या कम हुँदा वा अहेवहरूले रगत चेक गरी रिपोर्ट दिँदा मात्र यस्तो गलत रिपोर्ट आउने गरेको ल्याबका कर्मचारीले जनाए । यसरी खुलेआम मानवको स्वास्थ्यसँग खेलवाड गर्नेहरूलाई प्रशासनले कस्तो कारबाही गर्ला, स्थानीयवासी प्रतीक्षामा छन् ।