सुचित्राले मारिन फड्को

सुचित्राले मारिन फड्को


Suchitra

नेपाली चलचित्र फाँटमा पहिलो महिला निर्देशकको पहिचान बनाएकी सुचित्रा श्रेष्ठले आफ्नो करिअरमा नयाँ आयाम थपेकी छिन् । गत साता सम्पन्न नेपाल चलचित्र निर्देशक समाजको ११औँ साधारणसभाबाट समाजको अध्यक्ष चुनिएपछि उनको पहिचानमा ‘चारचाँद’ लागेको हो । सशक्त प्रतिद्वन्द्वी राजु केसीलाई फराकिलो मत अन्तरले परास्त गर्दै सुचित्रा नेपाल चलचित्र निर्देशक समाजको अध्यक्ष निर्वाचित भएकी हुन् । सञ्चारकर्मीको रूपमा समेत लामो समयदेखि क्रियाशील सुचित्राले ‘निवर्तमान’ बन्न पुगेका पूर्वअध्यक्ष दिनेश डिसीको स्थान लिँदै अब समाजको नेतृत्व सम्हाल्नेछिन् ।

साधारणसभाले उपाध्यक्षमा रक्षा सिंह राणा र दीपक खाणलाई छनोट गरेको छ भने महासचिवमा गोपालचन्द्र लामिछाने सर्वसम्मत भएका छन् । यस्तै सचिवमा शेखर खनाल र सचिवमा विश्वमणि घिमिरे विजयी भएका छन् । सह–कोषाध्यक्षमा राजु अधिकारी र सदस्यहरूमा पवनप्रसाद खतिवडा, अरुण प्रधान, आरबीके शरद, अजित अधिकारी, रञ्जित राना, सानु शाक्य र समुन्द्र भट्ट विजयी भएका छन् । सुचित्राले अध्यक्षको जिम्मेवारी सम्हालेपछि निर्देशक समाजको कार्यशैली फेरिने विश्वास सम्बद्ध पक्षले लिएको बुझिएको छ ।