परशुरामले उकास्ला त विराजलाई ?

परशुरामले उकास्ला त विराजलाई ?


biraj bhatta

पाँच वर्ष भोजपुरी फिल्ममा डुबुल्की मारेर पुन: नेपाली चलचित्रको मूलधारमा फर्किएका अभिनेता विराज भट्टको पुनर्वापसीपछिको पहिलो चलचित्र ‘जय परशुराम’ आगामी २८ गते देखि रिलिज हुँदैछ । एकताका महानायक पुकारिन थालेका राजेश हमालकै प्रतिष्पर्धीका रूपमा समेत विराजको चर्चा चल्न थालेको थियो । उनका एक्सनप्रधान फिल्महरू लगातार हिट हुँदा निर्माताहरू विराजलाई आफ्नो चलचित्रमा खेलाउन मरिहत्ते गर्थे । आफ्नो माग वा महत्त्वलाई आफैले चिन्न नसकेर बहकिँदा विराज क्षेत्रीय सिनेमामा सीमति हुन पुगे । आर्थिक हिसाबले त उनलाई भोजपुरी चलचित्रले राम्रै लाभ दियो होला, तर एउटा उचाई लिइसकेका नायकले नागपास खेलमा चिप्लिएजस्तो परिणति भोग्नुपरेको विश्लेषण चलचित्र समीक्षकहरूले गरे ।

यसरी हराउन पुगेका विराजलाई पुन: मूलधारमा फर्काउन निर्माता/निर्देशक रोज राणाको अहम् भूमिका रहेको बताइन्छ । अनावश्यक डिमाण्ड गरेर भाउ देखाइरहेका विराजलाई साम, दाम, दण्ड, भेद नीति अवलम्बन गरी रोजले पुन: ‘जय परशुराम’मार्फत् पुनर्वापसी गराएका हुन् । बुझिएअनुसार जम्मा पाँच लाख पारिश्रमिक लिएर विराजले यस चलचित्रमा काम गरेका हुन् । नायिका निशा अधिकारीसँग विराजको जोडी यस फिल्ममा निकै जमेको चर्चा चलेको छ । वास्तविकता जे भए पनि उनका फिल्मले पहिलेजस्तै सफलता पाउँछ कि पाउँदैन, विराजको भावी करिअरको अवस्था यसैबाट निर्धारित हुनेछ ।