ओलम्पिकको प्रसिद्धीको चर्चाको क्रम शुरु

ओलम्पिकको प्रसिद्धीको चर्चाको क्रम शुरु


लण्डन । अहिलेको आर्थिक परिवेशमा, विश्व कप फुटबल, ओलम्पिक गेमलगायतका विश्वव्यापी घटनाहरुलाई आफ्नो भूमिमा घटाउनका लागि सम्वृद्ध देशहरु पनि तँछाडमछाड गर्दछन् । वास्तवमा यसले देशलाई संसारभरि चर्चाको शिखरमा लान अनि आर्थिक गतिविधिले गर्दा देशलाई सो अवधिको आधारले सम्वृद्ध बनाउन मद्दत्त दिने अर्थशास्त्रीहरुको एकमत रहेको छ । यसै प्रकरणमा ओलम्पिक जहिले पनि सर्वत्र रुपमा अगाडि आउने गरेको छ ।
सन् २०१२मा लण्डनमा ओलम्पिक हुन गइरहेको बारे जानकारी नराख्ने सायदै यस संसारमा पढेलेखेका कुनै मानिस बाँकी होलान् । ब्रिटिश सरकार अहिले ओलम्पिकबाट हुने आर्थिक प्रभावको बारेमा अति नै सकारात्मक रुपले आशावादी भएका छन् । भर्खरै जानकारी गराइएको समाचारअनुसार, सन् २०१२मा हुने सय मीटर दौडको अन्तिम चरणलाई प्रत्यक्षतः सोही स्थानमा उपस्थित भई हेर्नका लागि टिकट दरको मूल्यसहित आवेदन दिनेहरु दशौं लाख नाघेको छ । आयोजकहरुका अनुसार, २०१२ लण्डन ओलम्पिकको सो इभेन्ट हेर्नका लागि गरिएका उक्त आवेदनहरुमध्ये लाखौं लाख मानिसहरुका आवेदनलाई वाध्यतावश रद्द गरिनु पर्ने भएको छ ।
ओलम्पिक स्टेडियममा जम्मा ८०,००० दर्शकहरुको मात्रै चाप धान्न सक्ने क्षमता रहेको छ, जसमध्ये ४०,००० जति सिट मात्र सर्वसाधारण दर्शकहरुलाई उपलब्ध हुने छ, बाँकी ४०,००० सिटहरु, अगस्ट पाँचपछि स्पोन्सरहरु, भीआईपीहरु, मिडिया प्रतिनिधिहरुलगायत ओलम्पिक अधिकारीहरुलाई सुरक्षित राखिने भएको छ ।
यसरी दशौं लाख मानिसहरुले उक्त १०० मीटरको दौडमा खासगरी जमैकन धावक उसैन बोल्टले फेरि चौंथो पटक विश्वको तेज धावकको पगरी गुथेको ऐतिहासिक समयको प्रत्यक्षदर्शी अनि साक्षी बन्नको लागि चाह राखेको हुनसक्ने मानिएको छ ।
लगातार ६ हप्ताको लागि खोलिएको आवेदन अवधिमा अठारह लाख मानिसहरुले ओलम्पिकका विभिन्न इभेन्टहरु हेर्नका लागि दर्ुइ करोड आवेदनहरु द्याखिला गरेको जनाइएको छ, जसका लागि जम्मा ६६ लाख टिकटहरु मात्र खरिद गर्नको लागि उपलब्ध हुनेछन् ।
त्यसरी माग अत्यधिक भएकोले चिट्ठाको प्रयोग गरेर भाग्यमानी आवेदकहरुको आवेदनलाई स्वीकार गरिने भएको छ, जसको नतिजा, यही जुनको २४ मा सार्वजनिक गरिने छ ।-नीर, मेस, ओलम्पिक श्रोत