ओलीसँगै राष्ट्रिय पोसाक विस्थापित !

ओलीसँगै राष्ट्रिय पोसाक विस्थापित !


kp_oli_pm_

सरकार परिवर्तनसँगै नेपालको औपचारिक राष्ट्रिय पोसाक दौरा, सुरुवाल, कोट र टोपी पनि ओझेलमा परेको छ । नयाँ प्रधानमन्त्री प्रचण्ड र अधिकांश मन्त्रीहरू राष्ट्रिय पोसाक प्रयोग गर्न रुचाउँदैनन् र उनीहरूले शपथग्रहण समारोहमा समेत आफूखुसी पोसाक पहिरिएका थिए । एमाले नेतृत्वको सरकारमा प्रधानमन्त्री खड्गप्रसाद ओलीलगायत अधिकांश मन्त्रीहरू औपचारिक पोसाकमा प्रस्तुत हुन्थे र उनीहरूले अघोषित रूपमा राष्ट्रिय भावनाको सन्देश दिन प्रयास गरेका थिए । तर, प्रचण्ड प्रधानमन्त्री बनेपछि उनी टाई, कोट, पाइन्ट, सर्ट र टोपीमा प्रस्तुत हुने गरेका छन् ।

कहिल्यै राष्ट्रिय पोसाकमा देखापर्न नचाहने प्रचण्डले नेपाली पोसाकप्रतिको वितृष्णाका कारणले ‘टाई’लाई प्राथमिकता दिएका हुन् या अरू कुनै मनोविज्ञानले काम गरेको हो, सो बुझ्न सकिएको छैन । त्यस्तै उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि पनि औपचारिक राष्ट्रिय पोसाकलाई महत्त्व नदिने नेतामा पर्छन् । नेपाली पोसाकमा कहिल्यै देखापर्न नचाहने निधिले प्रचण्डझैँ ‘टाईमाथि टोपी’ लगाउने गरेका पनि छैनन् । उनले शपथ पनि ‘टाई–सुट’मा नै लिएका थिए । आफूलाई राष्ट्रवादी दाबी गर्दै आएको र नयाँ गठबन्धन सरकारलाई विदेशी इसारा र इच्छामा बनेको भन्दै आएका खड्ग ओलीको सरकार विस्थापित भएसँगै नेपाली राष्ट्रिय पोसाकमा प्रधानमन्त्री तथा मन्त्रीहरू देखापर्न छोड्नुले साधारण जनतामा बेग्लै सन्देश गएको छ ।

राष्ट्रवादी हुन ‘एउटा छिमेकी मुलुकको चर्को विरोधी बन्नुपर्ने’ यो देशमा ओलीको बहिर्गमनसँगै प्रधानमन्त्री र मन्त्रीहरूले राष्ट्रिय पोसाक लगाउन छोडेपछि सर्वसाधारण मानिसमा वर्तमान सरकार राष्ट्रवादी चरित्रको नभएको सन्देश प्रवाहित हुन पुगेको छ । प्रधानमन्त्री र मन्त्रीहरूसमेत आफूखुसी पोसाकमा देखापर्न थालेपछि राष्ट्रिय पोसाक ओझेलमा पर्नु स्वाभाविक भएको छ ।