एआईजीपी विज्ञानराज शर्मामाथि एन्फा अध्यक्ष बन्न ‘दबाब’

एआईजीपी विज्ञानराज शर्मामाथि एन्फा अध्यक्ष बन्न ‘दबाब’


AIG Sharma

अखिल नेपाल फुटबल सङ्घ (ANFA) को अध्यक्ष पद करिब एक वर्षअघिदेखि रिक्त रहेकोमा सो पदपूर्तिका निम्ति निर्वाचन गराउन नेतृत्वमाथि दबाब पर्न थालेको छ । झन्डै दुई दशकदेखि एन्फाको अध्यक्ष रहँदै आएका गणेश थापामाथि भ्रष्टाचार र अनियमितता गरेको आरोप लगाउँदै फिफा (FIFA) ले गत वर्ष उनलाई दश वर्षका लागि निलम्बन गरेको थियो । त्यसयता नरेन्द्र श्रेष्ठले निमित्त भई काम गर्दै आएका छन् । निर्वाचित पदाधिकारीविहीन हुँदा कतिपय निर्णय लिन अप्ठ्यारो भएको र त्यसले फुटबल खेलको विकासमा प्रतिकूल प्रभाव पर्ने भएकोले निर्वाचनका निम्ति दबाब बढ्न थालेको हो ।

गणेश थापाको अपमानजनक बहिर्गमनपछि पनि उनले आफ्नो अनुकूलको कसैलाई एन्फाको अध्यक्ष बनाउने मनशाय राखेको खेलाडीहरूले महसुस गरेका छन् । तर, बताइएअनुसार उनले आफ्नो ‘यसम्यान’ बनेर अध्यक्ष रहने व्यक्ति अहिलेसम्म फेला पारेका छैनन् । अध्यक्ष बन्न नरेन्द्र श्रेष्ठ स्वयम् इच्छुक रहेका छन्, तर उनलाई आमखेलाडीको साथ रहने विश्वास गरिँदैन । त्यस्तै, स्कुल चलाएको अनुभव प्राप्त गीता राना (जो अहिले कुनै मधेसी समूहबाट सांसद पनि छिन्) ले पनि अध्यक्ष बन्ने आकाङ्क्षा राखेकी छिन् । त्यसैगरी कर्मा छिरिङ शेर्पा र धीरेन्द्र प्रधानले पनि एन्फाको अध्यक्ष बन्ने चाहना राखेको बताइन्छ । निर्वाचनमा उम्मेदवारी दिने मानसिकता उनीहरूले बनाएका छन् ।

पुराना फुटबल खेलाडीसमेत रहेका अतिरिक्त प्रहरी महानिरीक्षक विज्ञानराज शर्मामाथि पनि खेलाडीहरूबाट एन्फाको अध्यक्ष बन्न दबाबपूर्ण आग्रह भइरहेको बुझिएको छ । दशरथ रंगशालाको नजिकै त्रिपुरेश्वरमा जन्मिएर सोह्र वर्षको उमेर पूरा नहुँदै ए डिभिजन ब्वाइज युनियन क्लबको खेलाडीका रूपमा करिअर सुरु गरेका विज्ञानराज शर्माले प्रहरी सेवामा प्रवेश गर्नुअघिको ६ वर्ष लगातार फुटबल खेलाडीका रूपमा बिताएका थिए । फ्रेण्डस् क्क्ब र सङ्कटाजस्ता चर्चित क्लबका तर्फबाट समेत फुटबल खेलेका शर्माले नेपाल प्रहरीको निरीक्षकका रूपमा सेवा प्रवेश गरेपछि पनि फुटबल खेललाई उच्च प्राथमिकतामा राख्दै आएका छन् ।

करिब शिथिलझैँ बनिसकेको तात्कालिक महेन्द्र पुलिस क्लबलाई जगाउन र सक्रिय तुल्याउन पनि शर्माको महत्त्वपूर्ण योगदान रहेको मानिन्छ । फुटबलप्रति उनको लगाव अहिले पनि उत्तिकै रहेको महसुस देशभरका फुटबल खेलाडीले गरेका छन् । राजनीतिक हस्तक्षेपबाट ग्रस्त खेलकुद क्षेत्रको नेतृत्वदायी अङ्गमा गैरराजनीतिक र खेलपृष्ठभूमिका विज्ञानराज शर्माको प्रवेश हुँदा त्यसले फुटबलको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ । यही विश्वासका कारण खेलाडीले शर्मालाई एन्फाको अध्यक्ष बन्ने तयारीमा लाग्न दबाब दिएको बुझिएको छ ।