निर्भयी निखिल !

निर्भयी निखिल !


26 fun Nikhil

आफ्नो पहिलो चलचित्र ‘पिँजडा’मा साततले बिल्डिङबाट फाल हानेर एकाएक चर्चामा आएका नायक निखिल उप्रेती पारिवारिक झमेलामा परेर केही समय नेपाली चलचित्र क्षेत्रबाट लगभग पलायनको अवस्थामा रहे । कलिलै उमेरदेखि वलिउड टेकेका उनको सिने करिअर अभिनेताको रूपमा नभए पनि एक फिल्म–टेक्निसियनको रूपमा मुम्बईमै भएकाले दु:खको त्यस चरणमा उनी पुन: उतै हान्निए । मानिसले ठाने, ‘दुई जोईको पोइ कुना पसी रोई’को हालतमा पुगेका निखिलको फिल्मी करिअर अब समाप्तै हुनेभो’ ! तर, साहसी नायकको परिचय बनाएका निखिल त्यत्तिकै हार मान्नेवाला थिएनन् । जिन्दगीको व्यावहारिक पाटोले उनलाई पक्कै सतायो होला, तर अरूले सोचेझैँ पलायनको बाटो उनले रोजेकै थिएनन् । नभन्दै उनको पुनरागमन भयो नेपाली सिने क्षेत्रमा, र अहिले पनि उत्तिकै जोसका साथ कला–कर्ममा भिडिरहेका छन् नायक निखिल ।

एक्सन स्टारको रूपमा लोकप्रियता कमाएका निखिल यतिबेला ‘निर्भय’ नामक चलचित्रमा प्रमुख नायकको भूमिकामा काम गरिरहेका छन् । प्राय: लाइभ स्टन्ट दिने साहसिक नायक निखिलले चलचित्र ‘निर्भय’को निम्ति गत शुक्रबार चितवनको पर्यटकीय स्थल सौराहामा दिएको एक्सनले सुटिङ हेर्ने दर्शकलाई मनोरञ्जन मात्र दिएन, खतर्नाक दृश्यमा पनि सहज रूपले काम गरेको देख्दा उनीहरू छक्कै परे । रगतले पोतिएको, मुखमा काटेको, सेतो गन्जी र लुङ्गी लगाएको भेषमा थिए निखिल । निर्देशकको ‘एक्सन…’ आवाजसँगै उनी फुत्त उफ्रिए र जोडी मिलेर उभिएका दुई बडेमान हात्तीमाथि उभिन पुगे । एकैचोटि उडेर अप्पुकली र शान्तिकली नामक हात्तीको पिठ्युँमा निखिल पुगेको देख्दा उपस्थित दर्शकलाई सपनाजस्तो लाग्यो । उनीहरूको नजरमा निखिल साँच्चै नायक बनिरहेका थिए ।

झन्डै एक सय ३० फिल्म खेलिसकेका ‘एक्सन स्टार’ निखिल उप्रेती र दुई दर्जनभन्दा बढी चलचित्र खेलेकी चुलबुले नायिका नीता ढुङ्गानाको मुख्य अभिनय रहेको चलचित्र ‘निर्भय’को हाल चितवन निकुञ्ज आसपास अन्तिम छायाङ्कन भइरहेको छ । कुकुर, बाँदर, घोडासँग खतर्नाक दृश्यहरूमा काम गरिसकेका निखिलका लागि हात्तीसँगको अनुभवचाहिँ पहिलो नै रहेछ । त्यसो त ‘सन्तान’ फिल्ममा ज्यानकै बाजीमा मोटरसाइकल उडाएर १५ फिट हाइटको होर्डिङबोर्ड फुटाएका, अर्को चलचित्रमा गुडिरहेको ट्याक्सीमाथि फाल हानेर पनि आफूलाई सन्तुलनमा राखेका, ‘मुग्लिनपारि’मा पुलको लठ्ठामा पागलसरह हिँडेका निखिलका लागि हात्तीसँगको स्टन्ट कुनै नौलो हुने सवालै रहेन ।

गत वर्ष ‘भैरव’ चलचित्रबाट उनले ‘कमब्याक’ गरेका हुन् भने ‘निर्भय’मार्फत नीताले पहिलोपटक निखिलसँग काम गरेकी छिन् । पहिलोपटक निखिलसँग खेल्दा साह्रै रमाइलो भएको खुलासा गर्ने नीता आफूलाई चुलबुले रोलमा काम गर्ने नायिका भन्ने गरेका भए पनि यस फिल्ममा गम्भीर भूमिकामा रहेको बताउँछिन् । निर्भयमा नयाँ र मीठो कथावस्तु अनि उत्तिकै मर्म पनि लुकेको उनको कथन छ । यसअघि सस्पेन्स फिल्म ‘ब्ल्याकमेल’, कमर्सियल चलचित्र ‘सुकुलगुण्डा’ र लागूऔषधविरुद्धको ‘ब्ल्याकनाइट’ जस्ता चलचित्र निर्देशन गरेका मधुसुदन भट्टराईले निर्भयमा पहिलोपटक निखिललाई निर्देशन गरिरहेका छन् । उक्त चलचित्र आगामी मङ्सिरमा सार्वजनिक गर्ने तयारीका साथ काम भइरहेको बुझिएको छ ।