पूर्वेली चेलीले धरानमा गरिन् यस्तो आग्रह

पूर्वेली चेलीले धरानमा गरिन् यस्तो आग्रह


26 Chhkka

हास्य कलाकार जोडी दीपक–दीपाको चलचित्र ‘छक्का–पञ्जा’ आगामी भदौ २४ देखि नेपालभर रिलिज हुने भएको छ । सोमबार धरानमा आयोजित पत्रकार सम्मेलनबीच दीपक–दीपाले सोको जानकारी दिएका हुन् । आफ्नो नयाँ फिल्मको प्रमोसनका लागि धरानमा आएका ‘तीतो–सत्य’ जोडी दीपकराज गिरी र दीपाश्री निरौलाले फिल्म हेरेर कमेन्ट गरिदिन आग्रह गरे । छक्का–पञ्जाको निर्देशकसमेत रहेकी दीपाश्रीले काठमाडौं बसेर चलचित्रको प्रचार–प्रसार गर्ने परम्पराको अन्त्य गर्दै आफूहरू धरान आएको दाबी गरिन् । उनले आफू पूर्वकी छोरी रहेको खुलासा गर्दै पूर्वेली चेलीले बनाएको चलचित्रलाई माया गरिदिन आग्रहसमेत गरिन् ।

विशेषगरी रोजगारीको सिलसिलामा विदेश गएका नेपालीको दैनिकी र उनीहरूले पठाउने रेमिट्यान्सबारे चलचित्र निर्माण भएको दीपाले बताइन् । सो अवसरमा कलाकार तथा प्रोड्युसर दीपकराज गिरीले यस फिल्मले अन्य फिल्मसँग टक्कर पर्नु नपरेकाले आफ्नो लगानी सजिलैसँग दुई दिनमै उठ्ने दाबी गरे ।
करिब नब्बे लाखको लागतमा बनेको छक्का–पञ्जामा प्रायजसो नेपाली टेलिफिल्मका हास्य कलाकारहरू रहेका बताइएको छ । स्वयम् दीपकराज गिरीका अलावा जितु नेपाल, केदार घिमिरे (माग्ने बुढा), ताराचन्द्र बजगाईं, सुमन गिरी, कुञ्जना घिमिरे, प्रियङ्का कार्की आदि यस फिल्मका प्रमुख कलाकार हुन् । चलचित्रको सुटिङ ४५ दिन लगाएर काठमाडौं र नवलपरासीमा गरिएको हो । यसअघि ‘छ एकान छ’, ‘वडा नम्बर छ’ जस्ता सफल फिल्म निर्माण गरिसकेको यो जोडीको तेस्रो फिल्म ‘छक्का–पञ्जा’ले कत्तिको दर्शक बटुल्छ, त्यो त भदौ २४ गतेपछि नै थाहा होला ।

– मनिता चाम्लिङ