नेपालमै अन्तर्राष्ट्रिय गुरुकुलको तयारी

नेपालमै अन्तर्राष्ट्रिय गुरुकुलको तयारी


गुरुकुलको बारेको विचार गोष्ठी 14

नेपालमा अन्तर्राष्ट्रिय स्तरको गुरुकुल अर्थात शैक्षिक प्रतिष्ठान सञ्चालनको सम्भावना र औचित्यको विषयमा सारपूर्ण विचार गोष्ठी भएको छ । सत्–मार्ग अभियान नेपालको आयोजनामा राजधानीमा भएको विचार गोष्ठीमा शैक्षिक क्षेत्रका पाँच व्यक्तित्वले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने धेरै विशिष्ट व्यक्तित्तवहरुको सहभागिता रहेको देखिन्थ्यो ।

महेश संस्कृत गुरुकुल देवघाट तनहूँका सप्रा. डा. गुरूप्रसाद सुवेदीबाट नेपालमा गुरुकुलहरूको अवस्था र प्रयोगको विषयमा, त्रिभुवन विश्वविद्यालयका उ.प्रा. जनार्दन घिमिरेबाट नेपालमा अन्तर्राष्ट्रिय गुरुकुलको आवश्यकता र पाठ्यक्रमको प्रारूपको विषयमा, त्यस्तै हिन्दु विद्यापीठका डा. चिन्तामणि योगीबाट अन्तर्राष्ट्रि स्कूलहरूको प्रयोग र तहको विषयमा, शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालबाट अन्तर्राष्ट्रिय गुरुकुल सञ्चालनका लागि आर्थिक संभावनाको विषयमा र सोधकर्ता भरत गिरीबाट नेपालको विगत र वर्तमानको शैक्षिक नीति र गुरुकुल विषयमा कार्यपत्र पस्तुत भएको छ ।

कार्यक्रमको विषमा प्रकाश पार्दै आयोजक संस्था सत्–मार्ग अभियानका प्रवक्ता दीपक सुवेदीले नेपाल अर्थात हिमखण्डीय भूमि प्राचिनकालमा विश्वको गुरुक्षेत्र भएको तर अहिले नेपालीलाई आफ्ना सन्तान सानै हुँदै कुन देश पढ्न पठाउने भन्ने सोँच आउनपर्ने बाध्यता सृजना भएको तर्फ ध्यानाकर्षण गर्दै अब पुनः नेपालले शैक्षिक क्षेत्रमा आफ्नो पूरानो विरासत फर्काउन के गर्नु पर्छ भन्ने विषयमा आफ्नो संस्था चिन्तित भई सो कार्यक्रमको आयोजना गरेको बताए ।
कार्यक्रममा कार्यपत्र प्रतोतामध्ये डा. सुवेदीको कार्यपत्रमा प्राचिनकाल र अहिले पनि नेपालमा सञ्चालनमा आएका गुरुकुलहरूको सकारात्मक पाटो एवं वर्तमानमा ती गुरुकुलहरूको स्थितिको बारेमा सुवेदीले चर्चा गर्नुभएको थियो । उ.प्रा. घिमिरेले संस्कृतको ज्ञान नभई कुनै पनि भाषाको विज्ञ नभइने र संस्कृत अब विश्वव्यापि भाषा हुनपर्ने कुरामा विश्वले मनन् गरिसकेको बताउँदै पश्चिमा मुलुकहरूमा संस्कृतको अध्ययन अध्यापन हुने गरेका सामाग्रीहरू प्रस्तुत गर्नुभएको थियो । डा. चिन्तामणि योगीले विश्वव्यापि रूपमा सञ्चालनमा आएका शिक्षण संस्थाको वर्गिकरण विश्लेषण एवं शैक्षिक मान्यता तथा प्रयोगको विषयमा विकास भएका अवधारण आदिको बारेमा प्रकाश पार्नु भएको थियो । यसैगरी शिक्षा मन्त्रालयका प्रवक्ता समेत रहनु भएका लम्सालले आफ्नो कार्यपत्रमा अन्तर्राष्ट्रिय गुरुकुल सञ्चालन गर्नुपर्दा आवश्यक पर्ने आर्थिक व्यवस्थापन, तीनको संभावित स्रोत र संभावनाहरूको बारेमा योजनात्मक प्रस्तुति दिनु भएको थियो । अर्का कार्यपत्र प्रस्तोता गिरीले नेपाल भारतको प्राचिन शैक्षिक स्थिति, सोमा ह्रास आउनका कारणहरूको बारेमा सामाग्री प्रस्तुत गर्नु भएको थियो ।

समग्रमा कार्यपत्रहरूको निस्कर्ष अठार विद्या एवं चौंसट्ठी कला र विश्वव्यापि रूपमा प्रयोगमा आएका सबै खाले शिक्षा तथा ज्ञानविज्ञानलाई अध्ययन अध्यापन गराउन सकिने खालको शैक्षिक प्रतिष्ठान याने गुरुकुल नेपालमा सञ्चालन गर्न सकिने प्रसस्तै संभावना रहेको तर्फ लक्षित थिए । कार्यपत्रहरू माथिको टिप्पणी त्रिभुवन विश्वविद्यालयका प्रा.डा.मोहन खरेलले गर्नु भएको थियो ।

सो कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याउनु भएका विशिष्ट व्यक्तित्त्वहरू, सत्–मार्ग अभियान एवं गोतीर्थ मिसनको संयुक्त आयोजनामा सञ्चालन भएको योग शिविर कार्यक्रम आफ्नो विद्यालयमा सञ्चालन गर्ने विद्यालयहरू र संस्कृत भाषाको पठनपाठन आफ्नो विद्यालयमा सञ्चालन गर्ने विद्यालयका प्रतिनिधिहरूलाई सम्मान गरिएको थियो ।

यसरी सम्मानित हुनेहरूमा जनवादी गणतन्त्र चीनका लागि पूर्वराजदूत टंक कार्की, विश्वहिन्दु महासंघ अमेरिका च्याप्टरका अध्यक्ष कमल धिमाल, नर्वेजियन युनिभर्सिटि अफ लाइफ साइन्सका प्रा.डा. विशाल सिटौला, जर्मन भाषा विज्ञ संस्कृतविद् डा. म्यानफ्रेड ट्रेउ, वरिष्ठ उद्योगपति तथा शिक्षासेवी अनिल केडिया, अलकेमिष्ट एकेडेमी जोरपाटीका प्रिन्सिपल गोपाल शर्म उप्रेति, बिट्स एकेडेमी जोरपाटीका प्रिन्सिपल ज्ञानु श्रेष्ठ, अक्षरा स्कूल काँडाघारीका प्रिन्सिपल अञ्जु भट्टराई, लोयल्टी एकेडेमी मण्डिखाटारका पाउण्डर चेयरपर्सन विजय सम्वाहाम्फे, रिलायन्स एकेडेमी कपनका उपप्रधानाध्यापक दामोदर निरौला, युनिक नेपाल एकेडेमी लोकन्थलीका प्रिन्सिपल सुमन बस्नेत, प्रोग्रेसिभ इङ्गलिस सेकेण्डरी स्कूलका प्रिन्सिपल विष्णु पराजुली, योग प्रशिक्षण केन्द्र धर्मस्थलीका संयोजक राजकुमार तिमिल्सिना, एपेक्स स्कूलका डाइरेक्टर एल.पी.भानु, रूपक मेमोरियल उच्च मा.वि.का प्रिन्सिपल एल.एन.उपाध्याय, बि.जि.एस.एस. स्कूलका अध्यक्ष राकेश श्रेष्ठ, ओपल स्कूलका प्रिन्सिपल, ग्यालेक्सी पब्लिक स्कूल ज्ञानेश्वरकी सञ्चालिका एवं सांसद गीता राणा, डि.ए.बि. स्कूल ललितपुरकी प्रिन्सिपल भुवनेश्वरी राव, त्रिभुवन आर्दश उच्च मा.वि. फर्पिङ्गका प्रिन्सिपल, बाग्मती बोर्डिङ्ग स्कूलका अध्यक्ष सुरेन्द्र सिटौला, सगरमाथा प्रज्ञापीठ धनगढीमाई न.पा. लाहानका सुशिलचन्द्र अधिकारी, जनप्रेमी उ.मा.वि. कौशल्टारका संस्थापक प्रिन्सिपल रवि आचार्य र जेट नेपालका पूर्व अध्यक्ष वामनप्रसाद न्यौपाने रहेको कार्यक्रम स्थलमा आयोजकबाट सञ्चारकर्मीलाई उपलब्ध गराइएको लिष्टमा उल्लेख छ ।

कार्यक्रममा पूर्व निर्वाचन आयुक्त डा. रामभक्त पि.वि. ठाकुर, पूर्वगभर्नर तथा नेपाल सरकारका पूर्व सचिव दिपेन्द्र पुरुष ढकाल, पूर्व शिक्षा सचिव शंकर पाण्डेलगायतका शिक्षा क्षेत्र एवं यस क्षेत्रलाई बढी महत्त्व दिने व्यक्तित्त्वहरूको उपस्थिति रहेको थियो । विशिष्ट व्यक्तित्त्वहरूको समुपस्थितिमा भएको सो कार्यक्रम सार्थक देखिन्थ्यो ।

कार्यक्रमको अन्तरक्रियामा प्रा. राजाराम सुवेदी, बुद्धधर्म गुरु भन्ते आङ्फुरि शेर्पा, प्रा. नवराज कण्डेल, प्रा. प्रबोद्धन कौडिन्याय लगायतका महानुभावहरूले आफ्नो विचारको साथमा सल्लाह सुझाव राख्नु भएको थियो । कार्यक्रममा शिक्षा मन्त्रालयका निमित्त सचिव डिल्लीराम रिमालले प्रमुख आतिथीको वक्तव्य दिँदै अन्तर्राष्ट्रिय गुरुकुलको निर्माणको लागि सरकारले सकारात्मक रूपमा साथसहयोग दिने आश्वासन दिनु भएको थियो । गोष्ठी सत्–मार्ग अभियानका राष्ट्रिय सहप्रमुख सुशिलचन्द्र अधिकारीको अध्यक्षता एवं सोही संस्थाका महासचिव श्रीराम क्षत्रीको सञ्चालनमा सुसम्पन्न भएको थियो । आफ्नो संस्था अन्तर्राष्ट्रिय गुरुकुल अथवा शैक्षिक प्रतिष्ठान स्थापना गर्नको लागि अघि बढिसकेको र यसको लागि सम्बन्धित क्षेत्रले साथदिएमा भविष्यमा आवश्यक कामकार्यहरू सम्पादन एवं कार्यान्वयन अविलम्बपूर्वक गरिने अधिकारीले आफ्नो कार्यक्रम समापन वक्तव्य दिनेक्रममा बताउनु भयो ।
यस प्रकारको कार्यक्रममा उठेका सवालहरूलाई व्यवहारिक रूपमै प्रयोगात्मक तवरबाट सम्पादन एवं कार्यान्वयन गर्दै जाने हो भने पुनः यो भूमिले विश्वको गुरु भूमिको सम्मान पाउने स्थितिमा पुग्नसक्ने देखिन्छ । यस्ता कार्यहरू कार्यान्वयनको पक्षमा उत्रनसक्ने हो भने नेपाल नेपालीको शिर स्वाभिमानले ठाडो हुने विश्वास लिइएको छ ।

गुरुकुलको बारेको विचार गोष्ठी 2 (1)