दक्षिणपूर्वी लण्डन, तमू धिं बुद्ध जयन्ती

दक्षिणपूर्वी लण्डन, तमू धिं बुद्ध जयन्ती


लण्डन । अस्ति शनिवार, २१ मे २०११ को दिनमा प्लमस्टिडस्थित सेन्ट पैट्रिक हलमा दक्षिणपूर्व क्षेत्रीय लण्डन तमू धिंको आयोजनामा २५५५औं बुद्ध जयन्ती अत्यन्त उल्लास र श्रद्धाका साथ सम्पन्न भएको थियो । लण्डनका दक्षिणपूर्व क्षेत्रमा केही वर्षदेखि बहुसंख्यक नेपालीहरु बसोबास गर्दै आएका छन् । वैशाख पूर्णिमाको दिनमा भगवान बुद्धको जन्म, बुद्धत्व र निर्वाण प्राप्त गरेको दिन भएकोले गर्दा बौद्धमार्गीहरुका लागि यो अत्यन्तै पवित्र दिन हुनआउँछ । यस सालको बुद्ध पूर्णिमाको दिन १७ मे २०११ मा परेको थियो, तर, धेरैजसो भक्तजनहरुको छुट्टी शनिवार र आइतबार पर्ने हुनाले २१ मई २०११ (शनिवार) मनाइएको कुरा आयोजकहरुले बताएका छन् ।

दिनको १२ बजेदेखि विद्वान धर्मगुरु विरखा गुरुङ र उनका २ जना सहयोगी लामा गुरुहरुका सहयोगबाट बुद्ध भगवानको पूजा-अर्चना शुरु गरेका थिए । श्रद्धालुहरुको अत्यधिक संख्याले हल खचाखच भरिएको थियो । बुद्ध जयन्तीका लागि प्रायोजन गर्ने व्यक्तिहरुका संख्या धेरै थिए । प्लमस्डिट सामुदायिक भवन निर्माण समितिका संयोजक श्रीचन्द्र गुरुङलाई औपचारिक कार्यक्रममा प्रायोजकहरुका सूची पढ्न झण्डै आधा घण्टा लागेको थियो । सहयोगको प्रवृति हेर्दा नेपालीहरु बीचको सौहार्द्धता र एकताप्रति सकारात्मक प्रभाव परेको सबैलाई प्रतीत भइरहेको थियो । बुद्ध जयन्तीमा लगभग तीन चारसय मानिसहरुको सहभागिता थियो । बेलुकि ६ बजेतिर पूजा समापन भएपछि साढे ६ बजेदेखि औपचारिक कार्यक्रम क्षेत्रीय तमू धिंका अध्यक्ष क्याप्टेन रिटायर नारान प्रसाद गुरुङका अध्यक्षतामा समितिका सदस्य सूर्य गुरुङले सञ्चालन गरेका थिए । प्रमुख अतिथि ग्रिनिच बोरोका कौन्सिलर सजिद जवैद तथा अन्य अतिथिहरुमा नेपाल फोरम ग्रिनिचका अध्यक्ष राम अधिकारी, थकाली समाजका अध्यक्ष श्याम शेरचन, अक्सफोर्ड यूनिभर्सिटीका डाक्टर बालगोपाल श्रेष्ठ र अलाइन फुडका मार्केटिङ म्यानेजर उमेश रेग्मी थिए । उमेश रेग्मीले बुद्ध जयन्तीका लागि पेयपदार्थ प्रायोजन गरेका थिए । समितिका सल्लाहकार मोहन गुरुङले स्वागत मन्तव्य प्रकट गरेका थिए । कार्यक्रममा “बौद्ध धर्म र अहिलेको अवश्यकता” शीर्षकमा समितिका सल्लाहाकार सुमल कुमार गुरुङले बौद्ध धर्मसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसपछि नेपालीहरुका सामुदायिक भवन निर्माण समितिका संयोजक श्रीचन्द्र गुरुङले कार्यक्रमबारे र कार्यक्रमलाई सहयोग गरेका व्यक्तिहरु र सामुदायिक भवन निर्माण गर्नका लागि सहयोग पु¥याएका व्यक्तिहरुको सूची सार्वजनिक गरेर प्रमुख अतिथिको बाहुलीबाट सम्मानस्वरुप प्रमाणपत्रहरु वितरण गरेका थिए ।

कार्यक्रमको मध्यमा धर्मगुरुहरुलाई सम्मानका साथ अध्यक्षले विदाइ गरेका थिए । त्यसपछि प्रमुख अतिथिको मन्तव्यपछि अध्यक्षले धन्यवाद ज्ञापन गर्दै अर्को साल पनि यसरी नै सबैंको सहयोगको आपेक्षा राख्दै धुमधाम हर्षोल्लासका साथ भगवान बुद्धको जयन्ती मनाउने विचार प्रकट गरेका थिए । औपचारिक कार्यक्रमपछि एकघण्टाजति सांस्कृतिक कार्यक्रम बडो रोचकता साथ सूर्य गुरुङले सञ्चालन गरेका थिए । साँस्कृतिक कार्यक्रममा स्थानीय युवायुवतीहरुले नृत्य प्रस्तुत गरेका थिए । यस कार्यक्रममा आमा समूहको ठूलो योगदान रहेको थियो ।

दिनको खाजा, चियापानीदेखि बेलुकिको भोजनसम्मको निःशुल्क राम्रो व्यवस्था थियो । सांस्कृतिक कार्यक्रमपछि सामूहिक नृत्य गरेर अबेर रातिसम्म उल्लास मनाएका थिए । अस्तिको कार्यक्रममा सामुदायिक भवनको लागि एकैदिनमा लगभग १२ हजार पाउण्ड स्टर्लिङ (पूजाबाट उठेको रकम र व्यक्तिगत चन्दा मिलाएर) उठेको कुरा संयोजक श्रीचन्द्र गुरुङले बताएका छन् । स्मरण रहोस्, यसभन्दा अघि झण्डै ४८ हजार रकम सामुदायिक भवनका लागि उठिसकेको छ । – सुमल, मेस