विद्यालय भवन र महिला सशक्तीकरणका लागि मित्रराष्ट्रको सहयोग

विद्यालय भवन र महिला सशक्तीकरणका लागि मित्रराष्ट्रको सहयोग


8 Pr pic 4

इलाममा रहेको सप्तमाई गुरुकुल संस्कृत विद्याश्रम माध्यमिक विद्यालयको भवन एवम् छात्रावास भवन निर्माणका लागि मित्रराष्ट्र भारतले करिब चार करोड सहायता उपलब्ध गराउने भएको छ । यस सहयोगसम्बधी सम्झौतापत्रमा गत साता भारतीय दूतावासका द्वितीय सचिव ज्ञानवीर सिंह, इलामका स्थानीय विकास अधिकारी मदन कोइराला र सप्तमाई गुरुकुल संस्कृत विद्यालयका प्राचार्य भोगेन्द्र दाहालले हस्ताक्षर गरेका छन् । भारत–नेपाल संयुक्त आर्थिक परियोजनाको लघु विकास आयोजनाअन्तर्गत सो विद्यालय तथा छात्रावास भवन निर्माणका निम्ति भारत सरकारबाट ३ करोड ९९ लाख सत्तरी हजार प्रदान गरिन लागिएको हो ।

सन् २००९ मा प्राथमिक स्कुलको रूपमा स्थापित भएको सप्तमाई गुरुकुल संस्कृत विद्याश्रम दुई वर्षअघि मात्र माध्यमिक विद्यालय स्तरमा उकासिएको हो । स्थानीय तहमा स्तरीय शिक्षा उपलब्ध गराउँदै आएको सो विद्यालयमा संस्कृत, वैदिक अनुष्ठानसम्बन्धी ज्ञानका साथै अङ्ग्रेजी भाषामा पनि पढाइ हुँदै आएको छ । आसपासका क्षेत्रबाट आएका छात्रछात्रालाई समेत शिक्षण सेवा उपलब्ध गराउँदै आएको विद्यालयमा छात्रावास भवन निर्माण भएपछि सम्बद्ध छात्रछात्रालाई निकै सुविधा पुग्ने बताइएको छ । सम्झौतामा उल्लेख भएअनुसार १५ महिनाभित्रै भवन निर्माण कार्य सम्पन्न हुनुपर्नेछ भने स्कुल व्यवस्थापन समिति र इलाम जिल्ला शिक्षा अधिकारीले नियमित अनुगमन गरी सहयोग सदुपयोग भए–नभएको विवरण उपलब्ध गराउनुपर्नेछ । दूतावासले जनाएअनुसार इलाममा यसअघि भारतीय सहयोगमा एक परियोजना सम्पन्न भइसकेको छ भने ११ करोड ८३ लाख लगानीका विभिन्न तीन परियोजना निर्माणाधीन छन् । तीनवटा एम्बुलेन्स पनि भारत सरकारले इलामको निम्ति विगतमा उपलब्ध गराएको छ ।

यस्तै, सुदूरपश्चिममा रहेको दार्चुला जिल्लामा महिला सशक्तीकरण कार्यक्रम सञ्चालनका लागि भारत सरकारले एक करोड ४४ लाख सहयोग उपलब्ध गराएको छ । स्थानीय समाजसेवी महिला कार्यकर्ता दुर्गा अवस्थी, स्थानीय विकास अधिकारी सहदेव रायमाझी र नेपालस्थित भारतीय दूतावासका द्वितीय सचिव ज्ञानवीर सिंहबीच महिला सशक्तीकरण कार्यक्रममा सहयोग आदानप्रदानसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सो सहयोग कार्यक्रमअन्तर्गत सुरुमा खलङ्गा गाविसका अति विपन्न तथा सीमान्तकृत समुदायका पन्ध्र महिलालाई सिलाइबुनाइसम्बन्धी तालिम एवम् आवश्यक उपकरण उपलब्ध गराइने बताइएको छ । आर्थिक रूपले विपन्न र पिछडिएका महिलालाई स्वरोजगार तथा स्वावलम्बी तुल्याई आत्मनिर्भरतातर्फ अग्रसर बनाउन सो सहयोग महत्त्वपूर्ण हुने स्थानीय सचेत तप्काले विश्वास लिएका छन् । उक्त जिल्लामा नेपाल–भारत आर्थिक विकास परियोजनाअन्तर्गत दुई करोड ६३ लाखका दुई आयोजना पहिले नै सम्पन्न भएका छन् भने चार करोड ६३ लाखका अन्य दुई आयोजना निर्माणाधीन अवस्थामा छन् । जिल्लाको जनस्वास्थ्य क्षेत्रमा सहयोग पुगोस् भन्ने उद्देश्यले दुईवटा एम्बुलेन्स पनि भारत सरकारले दार्चुलालाई उपलब्ध गराइसकेको छ ।

8 PR DP Wing Photo

यसैगरी सडक विभागसम्बद्ध पन्ध्र इन्जिनियरको समूहलाई भारत सरकारले नोयडा (भारत)मा आयोजित दुईहप्ते विशेष तालिम एवम् अवलोकन कार्यक्रममा सहभागी गराएको छ । दुई साताको तालिम अवधिबीच नेपाली इन्जिनियरको समूहलाई भारतमा भएका सडक विकासका विभिन्न आयामबारे अवगत गराइएको थियो भने दुई तथा चार लेन सडक निर्माणसँग जोडिएका विभिन्न तथ्यको ज्ञान दिइएको थियो । यस्तै, सहभागी इन्जिनियर टोलीलाई विशेष अनुभवका निम्ति दिल्ली–आग्रा यमुना एक्सप्रेस–वे, मुम्बई पुणे एक्सप्रेस–वे, वरेली–बान्द्रा सी–लिङ्क, बेंग्लोर इलेभेटेट करिडोर, बेंग्लोर–मसुरी हाइ–वे आदि भारतका प्रमुख सडकको यात्रासमेत गराइएको थियो ।