विहङ्गम गोष्ठी स्थगित

विहङ्गम गोष्ठी स्थगित


mai banner

हिन्दूराष्ट्र स्थापनासम्बन्धी विषयलाई लिएर भदौ ९ गते गर्ने भनिएको विहङ्गम राष्ट्रिय अन्तरक्रियात्मक गोष्ठी स्थगित गरिएको छ । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको नेतृत्वमा स्थापित सनातन हिन्दूराष्ट्र स्थापना महाअभियानले उक्त अन्तरक्रियात्मक गोष्ठीको आयोजना गर्न लागेको थियो । नेता खड्काको स्वास्थ्यसमेतलाई ख्याल गरी सो गोष्ठी स्थगित गरिएको आयोजकहरूले बताएका छन् । देशको राजनीतिक तथा अन्य स्थितिलाई दृष्टिगत गरी उपयुक्त समयमा गोष्ठीको आयोजना हुने जानकारी आयोजक पक्षले दिएको छ । ज्ञातव्य छ, राजधानीको गौशालामा देशका बुद्धिजीवी, धार्मिक समुदायका अगुवा तथा शिष्य र राजनीतिक दलसम्बद्ध नेता तथा कार्यकर्तासमेत दुई हजारभन्दा बढीलाई सहभागी गराएर उक्त गोष्ठी आयोजना गर्न लागिएको थियो ।

हिन्दुअधिराज्यको पक्षमा बेग्लै अभियान
विश्वको एक मात्र हिन्दुअधिराज्य तथा संवैधानिक राजतन्त्र अटल रहिरहोस्, धर्मनिरपेक्ष, गणतन्त्र र सङ्घीयता खारेज होस्, अखण्ड–नेपाल अटल रहोस्, सत्ताको आडमा देशभित्र ब्रम्हलुट मच्चाउने भ्रष्टचारीहरुलाई कडा कारवाही गरी उनीहरुबाट लुटेको राष्ट्रको सम्पत्ति राष्ट्रियकरण गरियोस् जस्ता नारा उराल्दै दीर्घराज प्रसाइँको संयोजकत्वमा ‘सार्वभौम नेपाल एकता मञ्च राष्ट्रिय अभियान २०७३’ गठन गरिएको छ । धर्मनिरपेक्ष, गणतन्त्र र सङ्घीयतालाई लागु गर्न खोजेर कुनै निकास दिन नसकेको र देशभित्र अराजकत्ता र अधिनायकवादी भागवण्डाको शैलीमा मात्र देशलाई हिँडाउन खोजिएकाले देशको अवस्था देखेर आफूहरू अत्यन्त चिन्तित भएको सो अभियानकर्ताहरूको भनाई छ । नेपालको सार्वभौम अस्तित्व बचाउन, नेपालको राष्ट्रियता, राजतन्त्र, प्रजातन्त्रको समन्वय र सन्तुलन कायम गराई विश्वको एक मात्र हिन्दुअधिराज्यलाई युगयुगान्तरसम्म बचाई देशको विश्वब्यापी प्रतिष्ठा उकास्न अभियान सुरु गरिएको संयोजक प्रसाइँले बताए ।

मुलुकी ऐनबारे विशेष कार्यक्रम
५४औँ मुलुकी ऐन तथा सामाजिक एकता दिवसका अवसरमा गत भदौ १ गते राजधानीमा एक कार्यक्रमको आयोजना गरियो । सामाजिक अभियन्ता शुभद्रा विश्वकर्माको सभापतित्वमा आयोजित समारोहमा उहाँले ‘मुलुकी ऐनले सामाजिक न्यायको क्षेत्रमा अभूतपूर्व योगदान पुर्‍याएको स्पष्ट गर्दै जातीय विभेद हटाउन मुलुकी ऐनले महत्त्वपूर्ण पाइला चालेको बताउनुभयो । उहाँले हाम्रो सामाजिक एकता र सद्भाव वृद्धिमा मुलुकी ऐनले सहयोग पुर्‍याएकै कारण आज परिवर्तन सम्भव भएको पनि दाबी गर्नुभएको छ । सुभद्रा विश्वकर्माको सभापतित्व र दीनबन्धु अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा वरिष्ठ अभिवक्ता एवम् प्रजातन्त्रवादी नेता देवेन्द्र नेपाली, पूर्वसांसद पदम सापकोटा, समाजसेवी राधेश्याम थापा, दलित आयोगका पूर्वसदस्य दिनेश अछामी, स्वामी वाचन गुरु, मीना सुवेदी, डिल्लीराम खनाल, अम्बु राणा, समाजसेवी रामप्रसाद त्वहागु, राजेन्द्र झा, विक्रम झा, दलवीर विश्वकर्मा, शङ्कर पौड्याल, नीरा रञ्जित, र चन्द्रबहादुर रामहामले आ–आफ्नो मन्तव्य प्रकट गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन लक्ष्मी मल्लले गर्नुभएको थियो ।