काठमाडौं – राप्रपा नेपालले सभा विघटनको माग राख्दै संविधान सभा भवन घेराउका लागि आफ्ना कार्यकर्ता उतारेको छ। संविधान निर्माण, निश्चित योजना ल्याएरमात्र म्याद थप्नुपर्ने तथा संविधान सभा नै विघटन गर्नुपर्ने माग राखी विभिन्न समूहले विरोध चर्काएपछि संविधान सभा भवन परिसरको सुरक्षा व्यवस्था कडा तुल्याइएको छ।
संविधान सभाको म्याद सकिन चार दिनमात्र बाँकी रहे पनि कुनै समूह समयमै संविधान जारी गर भन्ने नारा लगाइरहेका छन् भने कुनै समूहचाहिँ म्याद थप्ने हो भने संविधान बन्ने निश्चित गराएरमात्र म्याद थप्नुपर्ने माग राखिरहेका छन्। राप्रपा नेपालले भने यो सभाले संविधान बनाउन नसकेकाले विघटन गर्नुपर्ने माग अघि सारेको छ। उसले सभा विघटन गरेर ताजा जनादेशमा जानुपर्ने माग राख्दै आएको छ। यसका लागि उसले बबरमहलमा कार्यकर्ता भेला गरेर संविधान सभा भवन घेर्ने दबाबमूलक कार्यक्रम थालेको छ।
यसै बीच उता संविधान सभाको म्याद थपका लागि तीन ठूला दल माओवादी, कङ्ग्रेस र एमालेका शीर्ष नेताको बैठक गोकर्णस्थित रिसोर्टमा चलिरहेको छ। वार्ता जारी रहेकाले उनीहरुबीच के निर्णय भयो भन्ने जानकारी प्राप्त हुन सकेको छैन। – मेस ।
प्रतिक्रिया