नर्सरीभित्र लुकेको राजारामको त्यो योगदान

नर्सरीभित्र लुकेको राजारामको त्यो योगदान


-वसन्तराज कुँवर
एक दिन हिँड्दै-हिँड्दै बसुन्धाराको तल्लो फाँटमा पुगेँ । बाटैमा एउटा ठूलो नर्सरी रहेछ । सुन्दर ढङ्गले राखिएको त्यो नर्सरीमा अनेकौं प्रकारका फूल फुलेका थिए । फूलभन्दा पनि फलफूलको बिरुवाहरू अझै बढी देखिन्थे । मलाई त्यो नर्सरीमा छिरौँ-छिरौँ लाग्यो र प्रवेश गरेँ ।
नर्सरी घुम्दै जाँदा एक काला दुब्ला अन्दाजी पचास-पचपन्न वर्षका एक व्यक्ति मेरो अगाडि आए । उनले मलाई आफू नर्सरीको मालिक भएको बताउँदै, ‘के बिरुवा आवश्यक परेको हो -‘ भनी मसँग जिज्ञासा राखे । हामी फलफूलका कुरा गर्दै थियौँ उनले मलाई गहिरिएर हेरे । म साधारण नार्कोनन् लेखिएको भेस्ट र हाफ पाइन्टमा थिएँ । उनले निकैबेर हेरेपछि मलाई सोधे, ‘तपाई वसन्त कुँवर होइन -‘ मैले ‘हो’ भन्नेबित्तिकै उनले मेरा दुवै हात समाए र भने, ‘म तपाईंलाई राम्ररी चिन्दछु । तपाईंले नेपालमा चेलिबेटी बेचविखनविरुद्ध चलाउनुभएको अभियान र पुर्‍याउनुभएको योगदान मलाई राम्ररी थाहा छ के गर्नु यो मुलुकमा राम्रो मान्छेलाई काम गर्न दिँदैनन् ।’ मैले पनि उनलाई चिन्न प्रयास गरेँ । मलाई पनि उनी कता-कता आफूले देखेझैं लाग्यो तर ठम्याउन सकिनँ । उनले भने, ‘मैले तपार्इंलाई प्रहरी प्रधान कार्यालयमा भेटेको थिएँ । मेरो नाम राजाराम थापा हो र म पनि नेपालमा चेलिबेटी बेचविखन रोक्न प्रयास गर्ने एक नागरिक थिएँ ।’ उनले यति भन्नेबित्तिकै मेरो मुहार उज्यालो भयो । मैले उनलाई चिनेँ । वास्तवमै ती राजाराम नेपालमा चेलिबेटी बेचविखन रोकथाम गर्न महत्वपूर्ण योगदान दिने इतिहासका पहिलो पात्रमध्ये एक थिए । ती कुनै दातृ संस्थाको डलर पाएर चेलिबेटी बेचविखन रोक्न सक्रिय भएका वा अङ्ग्रेजीमा प्रस्तावना लेख्न सकेका कारण दातृ निकायबाट विश्वासप्राप्त गरेका व्यक्ति नभई हृदयबाट नेपाली चेलिबेटीलाई बेचविखनबाट रोक्न आफ्नो घरजग्गा बेचेर त्यसमा लाग्ने व्यक्ति थिए । उनले चेलिबेटी बेचविखन नियन्त्रणको नाममा करोडौं कमाएका नभई आफ्ना पैतृक सम्पत्ति गुमाएका थिए । जब मैले यी नर्सरी चलाउने व्यक्ति नै हिजोका राजाराम थापा थिए भन्ने चाल पाएँ तब मैले पनि उनको दुवै हात समाएँ र सम्मानपूर्वक हेरेँ ।
प्रहरीमा रहँदा म संयुक्त राष्ट्रसङ्घको सेवा गर्न कम्बोडियामा पुगेँ र अन्तर्राष्ट्रिय प्रहरीसँग काम गरेँ । मलाई कम्बोडियाको श्रीसन्तुर भन्ने जिल्लाको प्रमुख बनाइयो जहाँ मेरो मातहतमा झन्डै २१ देशका प्रहरी थिए । मेरा मातहतका अधिकृतहरूमध्ये एक पाकिस्तानी अधिकृत पनि थिए । उनले एक दिन बम्बैमा रहेका नेपाली चेलीसँग आफूले सहवास गरेको कुरा गरे । यो कुराले निकै विवाद जन्मियो र मेरो चित्त निकै दुख्यो । मैले त्यही प्रण गरेँ म नेपाल फर्किएपछि नेपालबाट चेलिबेटी बेचविखन प्रक्रिया बन्द गराइदिन्छु ।’
म त्यसबखत डीएसपी मात्र थिएँ तर पाकिस्तानी अधिकृतले मभित्र एउटा ज्वालामुखी जन्माइसकेका थिए । म नेपाल फर्केपछि प्रहरी प्रधान कार्यालयको श्रव्य-दृश्य शाखामा प्रमुख भएँ । प्रहरीको टेलिभिजन कार्यक्रम बनाउने मेरो काम थियो तर मेरो मन चेलिबेटी बेचविखन रोक्न मात्र खोज्दथ्यो । म प्रत्येक बिदाका दिन चेलिबेटी बेचविखनसम्बन्धी अध्ययन गर्न कहिले नुवाकोट, कहिले सिन्धुपाल्चोक मोटरसाइकलमै पुगी अध्ययन गर्न थालेँ । केहीदिनमै मैले बुझेँ वास्तवमै चेलीहरू भारतमा बेचिँदा रहेछन् र ती पाकिस्तानी अधिकृतले भनेको ठीकै रहेछ । अब म यो प्रक्रिया रोक्ने योजना गर्न थालेँ । मैले बुझेँ कि चेलीहरूलाई बच्न भनी व्यक्ति बेचिन होइन जागिर खान वा विवाह गर्न भनेर गाउँबाहिर लगिँदोरहेछ । मलाई लाग्यो यसको रोकथाम भनेको जनचेतना हो । गाउँगाउँ गएर घर घरलाई ज्ञान दिनुपर्छ । यो अभियान प्रहरीमात्रले नगरी कलेज, पत्रकार, वकिल, स्वास्थ्यकर्मीसमेत लिएर गर्नुपर्छ । म यसै उद्देश्यले पद्मकन्या कलेज, पत्रकार सङ्घ, ल्याक नामक वकिलहरूको संस्थामा गएर कक्षा लिँदै यो अभियानमा सहयोग गरिदिन अनुरोध गर्न थालेँ । प्रहरीका हाकिमहरूलाई यो अभियानको औचित्य बुझाउन कठिन थियो तर पनि ध्रुव प्रधानका कारणले प्रहरीबाट स्वीकृति मिल्यो तर अभियानलाई पैसा थिएन । थोरै पैसाका लागि युनिसेफसँग रकम माग्ने क्रममा एउटा गैरसरकारी संस्थाको लेटरप्याड प्रयोग गर्दा माइती नेपाल भन्ने पीडित महिला राख्ने संस्थासँग मेरो भनाभन भयो । आखिर प्रहरीको नेतृत्वमा त्यो बृहत् अभियान २०५२ सालबाट सुरु भयो र नेपालमा चेलिबेटी बेचविखनविरुद्ध एक बृहत् अभियान सुरु भयो । प्रहरीको कामबाट खुसी भएर युनिसेफको प्रमुख क्यारोल वेलामी भन्ने महिलाले नेपाल प्रहरीको ५ वर्षो चेलिबेटी रोकथाम योजनालाई सहयोग गर्ने वचन दिइन् तर तत्कालीन आईजीपी अच्युतकृष्ण खरेलको घमण्ड र विवेकहीनताले यो प्रोजेक्ट सफल हुन सकेन । मलाई उनले त्यस जिम्मेवारीबाट हर्टाई सप्तरीमा पठाए किनकि उनको नजरमा म ध्रुव प्रधानको मान्छे थिएँ । म त्यसबखत देशका दिदीबहिनीलाई बेचविखनबाट रोक्ने अभियानमा काम गर्थे र खरेललाई त्यो अभियानको कुनै भावनात्मक महत्व थिएन । प्रहरीको यस अभियानलाई खरेलले निष्त्रिmय पारिदिएकै कारण प्रहरीको योजनामा काम गरेका र मैले बनाएको दीर्घकालीन योजना बुझेका माइती नेपालजस्ता संस्था यो काममा अगाडि देखिए । वास्तवमा त्यो सम्पूर्ण योजना प्रहरीको थियो । प्रहरीमा यही अभियानमा काम गर्ने सिलसिलामा मेरो भेट प्रहरी प्रधान कार्यालयमा राजाराम थापासँग भएको थियो । त्यो अभियान सुरु गर्नुअघि मैले उनको नाम र काम थाहा पाएको थिइनँ । उनी मकहाँ आफूले गरेका कामहरूको फेहरिस्त लिएर आए । वास्तवमै नेपालमा चेलिबेटी बेचविखन नियन्त्रण गर्ने कार्यमा उनको योगदान अतुलनीय रहेछ ।
नुवाकोटको एउटा गाउँमा जन्मिएका राजारामले वरिपरि आफ्ना गाउँमा चेलीहरू हराएको सानैदेखि रहेका रहेछन् । चेलीहरू सधैं हराउँथे तर पनि तिनका हराइले सबैको मन छुन्थेन तर राजारामको छुने गर्दथ्यो । जब ०३६ सालमा दुइजना चेलीहरू एकैपल्ट हराएको चर्चा चल्यो त्यसपछि राजारामले अरू चेलीहरू जोगाउने प्रण गरेछन् र हाम्फालेछन् चेलिवेटी बेचविखनविरुद्धको अभियानमा । उनी बम्बै पुगेछन् आफ्नै पैसामा र २९ महिना १८ दिनसम्म भारतको विभिन्न वेश्यालयहरू पुगी नेपाली चेलीहरूको हालत आफ्नै आँखाले हेरेछन् । खुब अध्ययन गरेछन् । यसबीच उनले ८६,७०३ -त्रियासी हजार सात सय तीन) बेचिएका चेलीहरूसँग भेटघाट गरेछन् । तिनका तथ्याङ्क बटुलेछन् । ती चेलीहरू नेपालका पहाडी गाउँदेखि भारतका वेश्यालयसम्म पुर्‍याउन सक्रिय ४९९३ -चार हजार नौ सय त्रियानब्बे) दलाल बारे पनि सूचना सङ्कलन गरेछन् । झन्डै तीन वर्ष कडा मिहिनेत गरी आफ्नै खर्चमा उनले जम्मा पारेका सूचनाहरू समावेश गर्दा ६१०२ पेजको प्रतिवेदन पनि बनेछ । त्यो प्रतिवेदन राजारामले नेपालमा सार्वजनिक गरी त्यो सरकारलाई हस्तान्तरण गरेछन् तर जनताप्रति कुनै उत्तरदायित्वबोध नगर्ने तत्कालीन सरकारले राजाराम नामक ती नेपालीले आफ्नो खर्चले गरेको अध्ययन रद्दीको टोकरीमा फालिदिएछ ।
त्यसबखत प्रहरीमा हुँदा मैले उनलाई भेटेर जानेको कुरा यिनै थिए । राजारामले देशका लागि केही योगदान दिएकै रहेछन् भन्ने मैले त्यसबखत बुझेँ । यसपटक उनलाई मैले नर्सरीको फलफूलका बोटबिरुवाबीच भेट्दा उनी केही बूढा पनि भइसकेका रहेछन् । म पनि बूढो भएकोले होला सायद उनलाई चिन्न गाह्रो भयो । मैले उनलाई कसरी यो नयाँ काममा लाग्नुभयो भनी सोधेँ । उसले भने- चेलिबेटी बेचविखन रोक्ने मेरो विचार सरकारको सहयोग नहुँदा तुहियो । त्यसपछि पनि म चुप रहिनँ । महिलालाई सशक्तीकरण गर्न विभिन्न सीपमूलक तालिम चलाए र आठ हजार महिलालाई तालिम दिए । तर, देशको अवस्था बिग्रँदो भएकोले तालिमबाट उत्पादित सामग्री बिक्री भएन । म फेरि आर्थिक घाटामा परेँ । ऋणमा डुबेँ । जताततैबाट हार खाएँ । सरकार जिम्मेवार नहुँदा मैले देशका लागि केही गर्ने इच्छामा सफलता पाइनँ । म जताततै आफूलाई हारेको पाउन थालेँ र अन्तमा बाँच्नका लागि नर्सरी सुरु गरेँ । विगत म बिर्सन चाहन्छु र नयाँ परिचय बनाउन चाहन्छु ।
हामी कुरा गर्दागर्दै पानी पर्‍यो । पानी रोकिएपछि म त्यहाँबाट हिँडेँ । त्यस दिन मलाई एउटा बहादुर नेपालीसँग भेटेको अनुभव भयो । चेलिबेटी बेचविखनको नाममा टाठाबाठाहरूले कागजी घोडा दौडाएर खुव दातृसंस्थासँग पैसा धुतेका छन्, खुब विदेश सयर गरेका छन् तर राजारामजस्ता नेपाली सायद धेरै बाठा नभएकाले र अङ्ग्रेजी लेख्न नजानेका कारणले होलान् त्यत्रो योगदान दिएर पनि कतै नर्सरीको फूलका बोट पछाडि छोपिन विवश भएका छन् । यसलाई देख्दा लाग्छ यो मुलुकमा खाली गफ गर्ने र कागजी घोडा दौडाउनेहरूको मात्र बोलवाला छ । साँच्चिकै काम गर्नेहरू कतै गुमनाम छन् । तिनलाई चिन्न सक्ने यो समाज र सरकारसँग क्षमता छैन राजारामको पनि राम्रा-नराम्रा पक्ष होलान् तर पनि उनको प्रयास केवल डलर र धन कमाउने उद्देश्यले मात्र थिएन । चाहे कसैले मानुन् या नमानुन् तर नेपालको चेलिबेटी नियन्त्रण अभियानमा ती हीरो हुन् । म यस क्षेत्रमा काम गर्ने व्यक्तिहरूमध्ये राजारामलाई हृदयबाट सम्मान गर्दछु र उनको योगदानको खुलिँदै प्रशंसा गर्छु । नेपाली चेलीहरूलाई बेचिनबाट रोक्न साँच्चिकै योगदान दिने व्यक्तिमध्ये एक महान् व्यक्ति राजाराम थापा पनि हुन् । नर्सरीभित्र लुकेका राजारामले त्यो योगदान सबैलाई थाहा होस् भन्ने मेरो कामना छ ।