५०० जहाजहरुको उडान रद्द

५०० जहाजहरुको उडान रद्द


लण्डन । ज्वालामुखीबाट निस्केको खरानी बादलको कारणले जहाज यात्रुहरुलाई ठूलो कष्ट उठाउनु परेको समाचार प्राप्त भएको छ । हिजो बेलायतको उत्तरी भागमा आइसल्याण्डको ज्वालामुखी विष्फोटनबाट निस्केको खरानी बादलले गर्दा हजारौं जहाजबाट यात्रा गर्ने यात्रुहरु अलपत्र परेका छन् । वातावरणलाई धमिल्याउँदै आइसल्याण्डको ग्रिम्स्मोटन ज्वालामुखी लगातार विष्फोट भएर निस्किरहेका खरानीहरुका कारण युरोपभरिका ५०० जहाज उडानहरु, विशेषगरी उत्तरी इङ्ग्ल्याण्ड र स्कटल्याण्डका विमानस्थलबाट उड्ने उडानहरु रद्द गर्नुपरेको थियो । ब्रिटिश एअरवेजका ग्लास्गो, एडिवर्ग र न्यू क्याशलका उडानसेवाहरु पनि रद्द गरिएका थिए । त्यस्तै इजी जेट, फ्लाइ बी, बीएमआई र एसर लिंग्जका उडान् सेवाहरु पनि रद्द गरिएका थिए ।
आज बिहानसम्म अरु विमानस्थलहरु बार्रा, प्रेस्टविक, कम्बरमाउल्ड, टायरी, कारलिजल र डरहमटीजका उडान सेवाहरु पनि प्रभावित भएको थियो । जहाज उडानको सकारात्मक समाचारको प्रतीक्षामा व्यग्र भएर बसेका यात्रुहरु कफी पसलहरुमा अथवा सुट्केशहरुमाथि सुतेर टन्न भरिएको विमान टर्मिनलहरुमा मानिसहरु कष्टमय समय बिताइरहेका थिए । क्लाइड भ्याली क्षेत्रका एकजना वासिन्दा गाइ म्यक्कीन जो स्टान्शेडमा बस्दै आएकी आफ्नो हजुरआमासँग एक हप्ताको लागि सँगै बस्ने विचारले हिँडेका थिए, उनले ….मान्छेहरु सबै कराइरहेका छन्, तर, कसले के गर्न सक्छ र ? …भनेर समाचारदाताहरुलाई आफ्नो विचार पोखेका छन् । अब आउने शनिबार वेम्बली स्टेडियममा मान्चेस्टर युनाइटेड र बार्सेलोनाको बीच हुन गइरहेको चैम्पियन लिगको फाइनल म्याचका लागि स्पेनबाट आउने बार्सेलोनाका खिलाडीहरुलाई खरानीको खतराले रोकिन्छ कि भन्ने भय उत्पन्न भएको छ । अस्थाइ हिसाबमा बर्लिनका विमान स्थलहरु पनि बन्द गरिएका छन् । युरोपका एअर ट्राफिक नियन्त्रकहरुका अनुसार डेनमार्क र दक्षिणी स्कान्दिनाभियाका जहाज उडानहरुमा ढिलाइ भइरहेको जानकारी दिएका छन् । यद्यपि यो समस्यबाट आगामी आइतबारसम्म मुक्ति पाइन्छ कि भन्ने अड्कल गरिएका छन् कारण विस्तारै खरानीहरु पातलिँदै गएको समाचार प्राप्त भएको छ, तर, ज्वालामुखी भने लगातार विस्फोटर भएर ५ किलोमिटर माथिको उचाइसम्म खरानीहरु फालिरहेको छ । श्रोत – द इको, सुमल, मेस ।