युवतीको ‘जाल’ हानेर भारतीय युवकको अपहरण

युवतीको ‘जाल’ हानेर भारतीय युवकको अपहरण


kidnapped

सुन्दर युवतीलाई प्रयोग गरेर आपराधिक घटना घटाइने गरेका सन्दर्भ बेलाबेला प्रकाशमा आउने गर्छ । यसरी नै युवती प्रयोग गरी एक भारतीय युवाको अपहरण गराएर रकम असुल्न खोजेको घटना प्रकाशमा आएको छ ।

घटना पोखराको हो । भारतको सुनौलीका सोनु भन्ने खुर्सिद अहमदलाई साथीभाइमार्फत् फोन–फोनमै चिनिएकी एक युवतीबाट पोखरा घुम्ने निम्तो आयो । संसारकै पर्यटकका लागि लोभलाग्दो गन्तव्यस्थल बनेको पोखरा सुनौलीका खुर्सिदका निम्ति पनि आकर्षणको केन्द्र नै थियो । साथीभाइमार्फत् चिनजान गराएकी तर भेट हुन नपाएकी सुन्दरीले नै घुम्न आउने अफर गरेपछि जुगौलीकै धनाड्य परिवारका खुर्सिद् मख्ख परे र पोखरा घुम्न जान लागेको आफ्ना दाजुलाई समेत खबर गरी पोखरा पुगे । यही भदौ ११ गते घरबाट हिँडेका उनी भोलीपल्टै पोखरा पुगे । भैरहवा बसाई भए पनि पोखरामासमेत घर भएको बताउने ती युवती र खुर्सिदबीच बाटोभरि पनि फोनमा कुरा भइरह्यो । युवती भेटेर पोखरा घुम्ने, मस्ती गर्ने कल्पनामा विभोर हुँदै उनी पोखरा पुगेका थिए ।
पोखरा पुग्नेवित्तिकै एक लज बुक गरेर फ्रेस हुनै लाग्दा उनलाई युवतीको फोन आयो । फोनमा उनले ढिलो नगरी लेखना आउन आग्रह गर्दै उनलाई लिन लजमै गाडीसमेत पठाइदिने जानकारी दिइन् । यस्तो अफरबाट खुर्सिद झन् प्रभावित बने । गाडी नै पठाउने भनेपछि युवती निकै धनाड्य र खानदानकी रहिछिन् भन्ने सोच उनमा पलायो ।

युवतीले पठाएको गाडीले करिव १० बजेतिर उनलाई लेखनाथ–८ सिसुवाको एक घरमा पु¥यायो । खुर्सिदको प्रतीक्षा गरिरहेकी युवतीले माथि बार्दलीबाट हात हल्लाउँदै स्वागत गरिन् । युवती साँच्चै सुन्दरी थिइन्, खुर्सिद मख्ख पर्दै गाडीबाट ओर्लिए । चालकले नै उनलाई माथि कोठासम्म् पु¥यायो र कुनै जरुरी काम परेको भन्दै तत्काल युवतीसँग विदा मागेर त्यहाँबाट बाहिरियो । युवतीले विषलु मुस्कान छर्दै खुर्सिदलाई कोठामा बसाएर पानी लिएर आउँछु भन्दै बाहिर निस्किइन् । तर त्यसपछि युवतीको मुखसम्म पनि देख्न पाएनन् खुर्सिदले, पानीको साटो चार–पाँचजना मुस्तन्डे युवाहरू कोठामा प्रवेश गरेर खुर्सिदको हातखुट्टा बाँधे । यति घटना भएपछि उनले राम्रैसँग बुझे, आफू अपहरणमा परेको । हात खुट्टा बाँधिएका खुर्सिद बाथरुममा थुनिए ।

यसपछि अपहरणकारीले खुुर्सिदको घरमा फोन गरेर एक करोड फिरौती माग्न थाले । अपहरणको अन्य घटनामा जस्तै अपहरणकारीले प्रहरीमा खबर नगर्न र कुनै चलाखी नअपनाउन चेतावनी दिए । तर खुर्सिदका दाइले कास्की प्रहरीलाई खबर गर्न ढिलाई गरेनन् । प्रहरीले पनि घटनाबारे तत्काल अनुसन्धानात्मक कारवाही सुरु ग¥यो । जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी गजुसिद्धि बज्राचार्यले अत्यन्त सजगताका साथ अनुसन्धान अघि बढाए । सोनुलाई लेखनाथ सिसुवाका अशोक अधिकारीको घरमा बन्धक बनाएर राखेको पत्ता लगाउन प्रहरीले धेरै माथापच्ची पनि गर्नुपरेन । तर यसरी कास्की प्रहरी अपहरणको घटनाबारे छानबिनमा लागेको सुइँको पाएर अपहरणकारीहरू भने सुइँकुच्चा ठोक्न भ्याए ।

प्रहरी अनुसन्धानपछि अपहरणमा संलग्न आरोपमा प्रहरीले भारतीय नागरिक साहाबुद्धिन कुसेरी पक्राउ परे । उनी अरु कोही नभई युवकलाई लजसम्म लिन जाने गाडी चालक थिए । भारत उत्तर प्रदेश गोरखपुर जिल्ला हमादीपुर घर भई हाल पोखरा–९ नयाँबजार बस्ने २५ वर्षीय शाहबुद्धिन कुसेरीलाई सख्तीका साथ सोधपुछ गरेपछि खुर्सिदलाई उनकै छिमेकका मानिसहरूले फिरौती असुल्ने नियतले अपहरण गराएको पोल खुल्यो । अपहरण गरी बन्दी बनाएर राख्नकै लागि केही दिनअघि मात्र अधिकारीको घरमा डेरा लिइएको रहेछ । उक्त डेरामा खातलास गर्दा अपराधी समूहले प्रयोग गर्ने एक पेस्तोल समेत फेला परेको छ ।
यसरी युवतीसँग घुम्ने सपना बोकेर भदौ ११ गते पोखरा पुगेका खुर्सिद अहमद १२ गते बन्धक बनाइए र १३ गते त अपराधीको बन्धनबाट मुक्त पनि भए । तर यस क्रममा अर्को विडम्बना उनले ब्यहोर्नुप¥यो । प्रहरीले खोजी गरेको सुइँको पाएर अभियुक्तहरू भागेपछि कोठामा थुनिएका उनले आफूलाई बाँधेको डोरी मुस्किलले फुकाए र त्यही डोरी प्रयोग गरी पछिल्तिरको झ्यालबाट बाहिर फाल हाने । त्यसरी डोरीमार्फत बाहिर निस्कन लाग्दा स्थानीयले चोर भन्दै उनलाई पक्रिए । उनले घटनाको बेलिबिस्तार लगाएपछि भने घटनाले रोचक मोड लिन पुगेको थियो ।

घटनाको प्रारम्भिक अनुसन्धानपछि प्रहरीले जनाएअनुसार अपहरणकारीले एक महिनाअघिदेखि नै अपहरणको योजना बनाएका थिए । सोहीअनुसार खुर्सिदलाई पोखरा बोलाइएको थियो । प्रहरीले चालक साहाबुद्धिन कुसेरीको बयानपछि नवलपरासी कावासोती–११ बस्ने वर्ष २१ का अरुण घलेलाई पनि रूपन्देहीबाट पक्राउ गरी पोखरा झिकाएको छ भने अहपरणका मुख्य योजनाकारको खोजी भइरहेको छ ।