‘ब्रिटिस गोर्खा’को पक्षमा मन्त्री महतको प्रतिबद्धता

‘ब्रिटिस गोर्खा’को पक्षमा मन्त्री महतको प्रतिबद्धता


prakash-saran

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले बेलायती सेनामा कार्यरत ब्रिटीस गोरखा नेपालीको सेवा–सुविधा समानताका आधारमा बेलायती नागरिकसरह नै हुनुपर्ने विषयमा बेलायत सरकारसँग कुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बेलायती सेनामा कार्यरत बृटिश गोरखा नेपालीले पनि बेलायती सरह नै सुविधा, पेन्सन, औषधोपचार लगायतको अधिकार समानताको सिद्धान्तका आधारमा हुनुपर्ने विषयमा बेलायतसँगका द्विपक्षीय बैठकहरुमा उठाउने प्रतिबद्धता मन्त्री डा. महतले राख्नुभयो ।

ब्रिटीस गोरखा सत्याग्रह संघर्ष समितिको प्रतिनिधिमण्डलले हिजो मङ्गलबार मन्त्री डा. महतसँग उहाँको कार्यकक्ष सिंहदरबारमा भेटी सोसम्बन्धी माग राखेको र त्यसका लागि बेलायत सरकारसँग तत्कालै पहल गरिदिन माग गरेको थियो । उक्त प्रतिनिधिमण्डलसँग मन्त्री डा. महतले यस विषयलाई आफूले गम्भीरताका साथ लिएको र जतिसक्यो चाँडै बेलायत सरकारसँग कुराकानी गरेर यस समस्या टुङ्ग्याउने बारेमा पहल गर्ने बताउनुभएको थियो ।
बेलायती सेनामा कार्यरत बृटिश गोरखा नेपाली र सवानिवृत्तहरुले विगत करिब २६ वर्षदेखि यो माग राखेर संघर्ष गर्दै आएका छन् । उनीहरुले यदि यो समस्या समाधान नगरेमा आगामी नोभेम्बर ७ तारिखदेखि आमरण अनशन गर्ने घोषणा यसअघि नै गरिसकेको जानकारी पनि सो भेटका क्रममा मन्त्री डा महतलाई जानकारी गराएका थिए ।

यसैबीच परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नेपालको परराष्ट्र नीतिको आधार हाम्रो आफ्नो राष्ट्रिय स्वार्थ र राष्ट्रिय एकता हुनुपर्ने धारणा राख्नुभएको छ । नेपाल विश्व सम्बन्ध परिषदद्वारा हिजो मङ्गलबार आयोजित अन्तरक्रियामा उहाँले भन्नुभयो– जुनसुकै सरकार आएपनि हाम्रो परराष्ट्र नीति राष्ट्रिय स्वार्थका आधारमा अगाडि बढ्नुपर्छ । मन्त्री डा. महतले नेपालजस्तो मुलुकले छिमेकीसँगको सम्बन्ध बलियो र विश्वासमा आधारित सम्बन्धको विकास गर्नुपर्ने बताउनुभयो । उहाँले छिमेकी वा विदेश सम्बन्धका लागि कुनै विशेषण दिनु आवश्यक नभएको र सम्बन्धित देशसँगको अन्तरसम्बन्ध जति धेरै छ त्यति नै मात्रामा सम्बन्ध पनि सघन हुदै जाने धारणा राख्नुभयो ।

उहाँले भ्रमणका क्रममा थप प्रस्तावमा जोड दिनुभन्दा पनि भएका आयोजना र विषयवस्तुलाई कार्यान्वयनमा लैजाने काममा जोड दिनुपर्ने बताउनुभयो । उहाँले भारत भ्रमणका एजेण्डाहरुमा काम भइरहेको जानाकारी पनि दिनुभयो । उहाँले भन्नुभयो– लक्ष्य तोकेर मात्र हुँदैन, त्यसमा पुग्ने प्रक्रिया र तरिका ठीक छन् भनेमात्र नतिजा राम्रो निस्किन्छ । उहाँले यस भ्रमणले विश्वासको सम्बन्ध विकसित हुनेमा आफू विस्वस्त रहेको बताउनुभयो ।