‘छिमेकी मित्रता जनसम्बन्धमा आधारित’

‘छिमेकी मित्रता जनसम्बन्धमा आधारित’


22 Arjun

स्वतन्त्र प्रजातान्त्रिक युवा सङ्घ नामक संस्थाको आयोजनामा ललितपुरको लगनखेलमा नेपाल–भारत मैत्री बृहत् तिज विशेष कार्यक्रम सम्पन्न भएको छ । सहरी विकासमन्त्री अर्जुननरसिंह केसी र नेपालका लागि भारतका राजदूत रणजित रेको विशेष उपस्थितिमा आयोजित सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रममा मन्त्री केसीले नेपाल र छिमेकी मित्रराष्ट्र भारतबीच सदीयौँदेखि आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्ध रहेको बताउँदै दुई देशबीचको मित्रतालाई अझ मजबुत बनाउन जनस्तरबाट समेत सार्थक पहल हुनुपर्नेमा जोड दिनुभयो । संस्कार, संस्कृति, परम्परा र मान्यताहरूले नेपाललाई सांस्कृतिक रूपमा सम्पन्न बनाएको उल्लेख गर्दै परम्पराको निरन्तरताबाटै सहअस्तित्व, शान्ति र भ्रातृत्वको सम्बन्ध विकसित गर्न सकिने उहाँको तर्क थियो । संविधानका केही विषयमा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्दै पूर्ण कार्यान्वयन गर्नका लागि सहमति, सहकार्य र सहअस्तित्वको संस्कार अपरिहार्य रहेको बताउँदै हामी सबै नेपाली हौँ र राष्ट्रको समस्या सबैको साझा समस्या हो भन्ने भावना जागृत भए मात्र परिवर्तनका उपलब्धिहरू संस्थागत गर्नुपर्ने मन्त्री केसीको भनाइ थियो ।

कार्यक्रममा राजदूत रेले नेपाल र भारतको मित्रता जनसम्बन्धमा आधारित रहेको बताउँदै सांस्कृतिक समानताले दुई देशबीचको एकतालाई मजबुत बनाउँदै आएको धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष अरविन्दले नेपाल र भारतबीचको सम्बन्ध सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।