छुट्टै टोली लिएर देउवानिवासमा पौडेल

छुट्टै टोली लिएर देउवानिवासमा पौडेल


NC leaders

नेता रामचन्द्र पौडेलको टोलीले पार्टी सभापति शेरबहादुर देउवालाई आफ्नो इच्छा र क्षमताअनुसार काम गर्न नदिने सङ्केत देखिएको छ । त्यसनिम्ति टोलीले बारम्बर देउवालाई भेटी विभिन्न विषयमा आफ्नो चासो प्रकट गर्ने र निर्णयमा प्रभाव पार्ने काम गर्दै आएको छ । मंगलबार (भदौ २१ गते) पनि रामचन्द्र पौडेल नेतृत्वको एक टोली शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवास पुगी विभिन्न विषयमा चासो प्रकट गर्नुका साथै सभापतिको धारणा माग ग¥यो । टोलीले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण र एजेण्डा, स्थानीय निकायको निर्वाचन, सीमाङ्कन तथा स्थानीय निकायको सङ्ख्या, राष्ट्रिय योजना आयोगको गठनलगायतका विषयमा सभापतिको धारणा माग गरेको थियो ।

नेता रामचन्द्र पौडेललाई मात्र उपलब्ध गराइएको समयमा पौडेलका साथ झन्डै दर्जन नेताहरू आएको देखेर सभापति देउवाले सुरुमा असहज महसुस गर्नुभएको थियो । तथापि उहाँले विषयलाई स्पष्ट रूपमा प्रस्तुत गर्दै सबैको भावना समेटेर अघि बढ्न आफू तयार रहेको प्रतिबद्धता त्यस अवसरमा जाहेर गर्नुभएको थियो । मंगलबार नै अपराह्न नेता खुमबहादुर खड्कासँग पनि सभापति देउवाले आफ्नो निवासस्थानमा छुट्टै भेटवार्ता गर्नुभएको थियो । दुई नेताबीच पदाधिकारी चयन र केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने विषयमा छलफल भएको बुझिएको छ ।