उपेन्द्रहरू किन उक्लिँदै छन् पहाड ?

उपेन्द्रहरू किन उक्लिँदै छन् पहाड ?


Amar Deep Moktan

– अमरदीप मोक्तान

उपेन्द्र यादवको मधेसी जनाधिकार फोरम तथा अशोक राईको सङ्घीय समाजवादीबीच एकीकरण भई निर्माण भएको सङ्घीय समाजवादी फोरम आजभोलि बाक्लो रूपमा पहाड उक्लिँदै गरेका देखिन्छन् । कुनै पनि पार्टी हिमाल–पहाड उक्लिनु या तराई–समथरमा गतिविधि बढाउनु राम्रै कुरा हो । तर, विगतमा काङ्ग्रेस, एमाले, माओवादीले आदिवासीलाई मूर्ख बनाएजस्तै सङ्घीय समाजवादी फोरमको आवरणमा उपेन्द्र यादवहरू पहाड उक्लिनु पनि सन्देहास्पद छ । आखिर किन उपेन्द्रले आदिवासी हितचिन्तक पार्टीसँग एकीकरण गर्न रुचाए ? कतै आदिवासीलाई मूर्ख सम्झेर त होइन ?

सङ्घीय समाजवादी पार्टीको एकीकरण नहुँदासम्म आदिवासी समुदयमा एकप्रकारको गर्वबोध थियो कि मुलुकमा एउटा आदिवासी हितचिन्तक पार्टी त छ भनेर । तर, एकीकरणपश्चात् उपेद्र यादव तथा मधेसीको कद बढेको छ भने अशोक राईको नाम तथा आदिवासीहरू लगभग कदविहीन नै हुन पुगेका छन् । सङ्घीय समाजवादीको अध्यक्षमा उपेन्द्र यादव भएपश्चात् सङ्घीय समाजवादी फोरम मधेसी पार्टीको रूपमा बढी चिनिन थालिएको छ । आदिवासीका मुद्दा सानो भएको छ भने मधेसी मुद्दाले झन् आकार लिएको छ । हिजोसम्म काङ्ग्रेस, एमाले, माओवादीजस्ता बाहुन हालीमुहाली भएका पार्टीको पुच्छर समातेर आदिवासीले वैतरणी पार गर्न खोजे, तर अन्तमा हातलाग्यो शून्य ! अब आएर मधेसी नेताको पुच्छर समातेर वैतरणी पार गर्न खोज्दै छन् । तर, ठोकुवाका साथ भन्न सकिन्छ आदिवासीको हातमा फेरि पनि शून्य नै पर्ने छ ।

पहाड उक्लिँदै आदिवासी क्षेत्रमा जनाधार विस्तार गर्ने उपेन्द्र यादवको योजना स्वागतयोग्य भए तापनि आदिवासी जनताले मधेस आन्दोलनको चरम उत्कर्षमा पुगेको बेलाका उपेन्द्र यादवलाई स्मरण गर्न जरुरी छ । त्यतिबेला सदनमा उपेन्द्र यादवले हिन्दी भाषामा दहाड लगाएको दृश्य, अनि फोरमका कार्यकर्ताद्वारा अन्जाम दिइएको गौरको नृशंस हत्याकाण्ड त्यत्तिकै कसरी बिर्सन मिल्छ र ? मधेसी जनाधिकार फोरमको आह्वानमा तराईबाट पहाडिया खेद्ने अभियानका दौरान पहाडे समुदायलाई छानी–छानी हत्या गरियो, लुटियो, वर्षौंदेखि तराईमा बसोबास गर्दै आएका पहाडे समुदायलाई आफू जन्मे–हुर्केको स्थानबाट आँसुको भेल बगाउँदै छोड्न बाध्य तुल्याइयो । आफ्ना सम्पत्ति कौडीको मोलमा बेचेर लघारिन बाध्य भए पहाडियाहरू । पहाडिया र मधेसीबीच दूरी तथा मतभिन्नता बढाउने कामको योजनाकारमध्ये अग्रपङ्क्तिमा उपेन्द्र यादव पनि पर्छन्, यो कसरी भुल्न सकिन्छ र ? तसर्थ उपेन्द्र आदिवासी हितचिन्तक हो भनी कसैले बुझेका छन् भने त्यो पूर्ण रूपमा गलत एवम् बुद्धि भ्रमित हुनु मात्र हो । उपेन्द्रको पहाड उक्लिने तथा विशेषगरी आदिवासी समुदायमा जनाधार विस्तार गर्ने योजनालाई सामान्य ठान्नुहुँदैन, यो अत्यन्त सुनियोजित र खतर्नाक योजनाअन्तर्गत भएको छ । हेक्का रहोस् । यदि अझै चेत खुल्दैन भने प्रचण्ड र उपेन्द्रजस्ता नेताहरूले आदिवासी समुदाय तथा क्षेत्रलाई आफ्नो राजनीतिक स्वार्थ सिद्ध गर्ने उर्वरभूमिको रूपमा प्रयोगशाला बनाएर स्थापित हुने परम्परा जारी नै रहनेछ ।