भारत भ्रमणलाई लिएर पार्टीभित्रै प्रचण्डमाथि शङ्का

भारत भ्रमणलाई लिएर पार्टीभित्रै प्रचण्डमाथि शङ्का


prachanda

प्रधानमन्त्री प्रचण्डबाट हुने छिमेकी मित्रराष्ट्र भारत भ्रमणको तिथि नजिकिँदै जान थालेपछि उहाँमाथि पार्टीभित्रैबाट विभिन्न प्रकारका दबाब दिने क्रम सुरु भएको छ । पार्टीका जिम्मेवार नेता तथा माओवादी पार्टीका हिषैषी दाबी गर्नेहरूले प्रचण्डलाई भेटी भारतसँग कुनै प्रकारको सन्धि–सम्झौता नगर्न दबाब दिन थालेका छन् । भारत भ्रमणमा रहँदा प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति प्रणव मुखर्जीलगायत अन्य महŒवपूर्ण भारतीय नेता तथा उच्चाधिकारीहरूसँग प्रधानमन्त्री प्रचण्डको भेटवार्ता गर्ने कार्यक्रम रहेको जानकारीमा आएको छ ।

उच्च महŒवका भेटवार्ता गर्नेबाहेक प्रचण्डलाई भारत सरकारद्वारा सञ्चालित कतिपय विकास आयोजनाहरूको अवलोकन गराउने कार्यक्रम पनि रहेको बुझिएको छ । प्रधानमन्त्री प्रचण्ड स्वयम्ले हिमाञ्चल प्रवेश या उत्तराखण्डमा बनेको कुनै ठूलो जलविद्युत् आयोजना हेर्ने इच्छा प्रकट गर्नुभएकोले उहाँलाई हेलिकोप्टरमार्फत जलविद्युत् आयोजनास्थलको भ्रमण गराउने कार्यक्रम बनेको बताइएको छ । भ्रमणका क्रममा भारतले प्रचण्डसमक्ष प्रस्तुत गर्ने एजेण्डाबारे अहिलेसम्म स्पष्ट जानकारी हुन सकेको छैन । प्रचण्डले भने भारतसमक्ष प्रस्तुत गर्ने एजेण्डाहरू तय गरिसकेको बताइन्छ । प्राप्त जानकारीअनुसार प्रधानमन्त्री प्रचण्डबाट हुलाकीमार्ग निर्माण दोस्रो चरणको निम्ति सम्झौताको प्रस्ताव हुनेछ । त्यस्तै पञ्चेश्वर परियोजना कार्यान्वयनलाई गति दिन विशेष सहमति पनि बनाइने भएको छ र अरुण प्रथम जलविद्युत् आयोजना निर्माणका निम्ति भारत सरकारसँग अनुदान सहयोग माग्ने प्रस्ताव पनि प्रचण्डले गर्नुहुने भएको छ । सो जलविद्युत् आयोजना निर्माणमा सहयोग पु¥याउनेबारे भारत सरकार सकारात्मक रहेको बुझिएको छ ।

यसबाहेक भूकम्पपीडितलाई उपलब्ध गराइने रकम थप गर्नेबारे पनि दुई पक्षबीच सहमति बन्ने सम्भावना छ । प्रचण्डको यो भ्रमणलाई भव्य, उपलब्धिमूलक र स्मरणीय बनाउने सोच भारतीय पक्षले बनाएको छ । प्रधानमन्त्रीको जिम्मेवारीमा पु¥याउनेदेखि भारत भ्रमणलाई भव्य र सफल बनाउनेसम्मका कार्यमा भारतले दर्शाएको तत्परतालाई नेपालभित्र र उत्तरतर्फको छिमेकीबाट समेत अभिरुचिपूर्वक हेरिएको छ । स्वयम् प्रधानमन्त्री प्रचण्डको पार्टी ‘आफ्ना नेतालाई कहीँ लगेर फसाइने’ हो कि भन्ने चिन्ता प्रकट गर्दै छ र पार्टीका जिम्मेवार नेताहरूबाट होसियार रहन प्रचण्डलाई बारम्बार सचेत गराउने काम पट्यारलाग्दो स्तरमा भइरहेको छ । प्रचण्ड र माओवादी पार्टीको राष्ट्रवादी छविमा धक्का नपुगोस् भन्ने चिन्ताले माओवादी नेताहरूबाट प्रचण्डलाई सचेत गराउने काम भएको बुझिन्छ ।

माओवादी नेताहरूले प्रचण्डलाई चीन र चिनियाँ राष्ट्रपतिको सम्भावित नेपाल भ्रमणलाई प्रतिकूल असल पु¥याउने कुनै पनि काम नहोस् भनेर पनि सचेत गराइरहेका छन् । माओवादी पार्टीका नेताहरू ‘भारतले प्रचण्डलाई भनेर चिनियाँ राष्ट्रपतिको भ्रमण रोकाउन सक्ने’ कुराप्रति विशेष रूपले सचेत देखिएका छन् र उनीहरूले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण रोकिने या नहुने अवस्था आएमा त्यसले माओवादी पार्टी र देशलाई समेत नकारात्मक असर पर्ने विश्लेषण गर्दै छन् । ज्ञातव्य छ, भारतको समेत सद्भावका कारण प्रचण्ड नेतृत्वमा सरकार बनेको भए पनि माओवादीका अधिकांश नेताहरू चीनप्रति विशेष सद्भाव र सम्मानभाव राख्ने गर्दछन् । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण भएमा पार्टी र देशलाई कुनै न कुनै प्रकारले लाभ पुग्ने ठहर उनीहरूको छ । तर, प्रचण्ड भने भारतसँग पुनस्र्थापित हुँदै गरेको ‘विश्वास’मा क्षति पुग्ने कुनै कार्य नहोस् भन्नेमा सचेत रहनुभएको बुझिन्छ ।

भारतलाई समेत विश्वासमा लिएर मात्र चीनका राष्ट्रपतिलाई नेपालको भ्रमण गराउनु उपयुक्त हुने प्रचण्डको धारणा रहेको छ । आफ्नो योजनामा उहाँ कसरी सफल हुन सक्नुहुने हो चासोका साथ हेरिएको छ । आपसी विश्वासमा शङ्का पैदा हुने कुनै काम प्रचण्डबाट भएमा त्यसले नेपाल–भारत सम्बन्धलाई पुनः चिसो बनाउने र नेपालको आन्तरिक राजनीतिमा समेत अनपेक्षित हलचल उत्पन्न गराउन सक्ने आशङ्का राजनीतिक विश्लेषकहरूले गरेका छन् ।