भाषा बिगार्नेहरू पराजित हुँदै

भाषा बिगार्नेहरू पराजित हुँदै


नेपाली भाषाको स्थापित मूल्य, मान्यता, नियम र व्याकरणलाई भताभुङ्ग बनाउन लागिपर्ने मुख्य व्यक्ति नेपाली साहित्यिक आकाशका एक महानक्षत्रकै परिवारका महत्वपूर्ण सदस्य रहेको जानकारी पाउँदा धेरैलाई दुःख र आश्चर्य लाग्न सक्छ । भाषा बिगार्ने अभियानको अगुवाइ गर्ने हेमाङ्गराज अधिकारी राष्ट्रकवि माधव घिमिरेका सदोदर ज्वाइँ हुन् । राष्ट्रकविकै ज्वाइँभाषाको मौलिक एवम् प्रचलित मान्यता भङ्ग गर्न किन सक्रिय भएका हुन् चासोको विषय बनेको छ । अधिकारीसँगै भाषा बिगार्न सक्रिय अन्य प्रमुख अभियन्ताका रूपमा चूडामणि बन्धु, बद्रीविशाल भट्टराई, माधव पोखरेल र जिवेन्द्रदेव गिरीलाई लिइन्छ ।

नेपाली साहित्यका मूर्धन्य व्यक्तिहरू डा. ताना शर्मा, त्रिभुवन विश्वविद्यालय नेपाली भाषा विभागका प्रमुख देवीप्रसाद गौतम र बालकृष्ण पोखरेललगायतले आफूबाट गल्ती भएको स्वीकार गर्दै भाषिक मूल्यमान्यताको पक्षमा आफूहरूलाई उभ्याएका छन् । पूर्वशिक्षामन्त्री एवम् भाषासेवी दीनानाथ शर्माले पनि मन्त्रीका रूपमा लिइएको एउटा निर्णय आफ्नो ठूलो भूल भएको भन्दै भाषिक शुद्धताकै समर्थनमा आफू रहेको बताएका छन् । त्रिवि नेपाली केन्द्रीय विभागका सबै प्राध्यापक पनि स्थापित भाषिक शुद्धताकै पक्षमा देखिएका छन् । नेपाली भाषालाई भित्रैदेखि कमजोर र अराजक बनाउन हेमाङ्गराज अधिकारीलगायतले निर्वाह गरेको भूमिका रहस्यमयी एवम् दुर्नियतपूर्ण रहेको देखिन थालेपछि भाषासेवीहरू तिनका विरुद्ध एकजुट हुने क्रम बढ्दो छ । त्यसैले नेपाली भाषा आफ्नो प्रचलित मूल्यमान्यतासहित रक्षित हुने विश्वास गर्न थालिएको छ ।