मोदीलाई धार्मिक यात्राको लागि निमन्त्रणा

मोदीलाई धार्मिक यात्राको लागि निमन्त्रणा


narendra-modi

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणपछि दुई मुलुकबीच उच्च तहका भ्रमणहरूले दु्रत गतिमा निरन्तरता पाउने सम्भावना बढेको छ । भदौ ३० गतेदेखि सुरु हुने प्रचण्डको भ्रमण चार दिनको हुने र उनी असोज २ गते काठमाडौं फर्कनेछन् । त्यसपछि भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण हुने बुझिएको छ । मुखर्जीको भ्रमण आगामी नोभेम्बरको पहिलो साता अर्थात् कात्तिकको तेस्रो सातामा गराउनेबारे कूटनीतिक परामर्श सुरु भएको छ । मुखर्जीको नेपाल भ्रमणपश्चात् राष्ट्रपति विद्यादेवीको भारत भ्रमण हुने भएको छ । भण्डारीलाई आगामी डिसेम्बरमा नयाँदिल्लीको भ्रमण गराउने तयारी भएको बताइन्छ ।

त्यसपछि आगामी माघ–फागुनतिर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण हुनसक्ने सम्भावना छ । प्रधानमन्त्री प्रचण्डले मोदीलाई नेपालको धार्मिक भ्रमण निम्ति आमन्त्रण गर्ने भएका छन् । उनले जनकपुर, लुम्बिनी र मुक्तिनाथलगायतका धार्मिक क्षेत्रहरूको भ्रमण गर्न मोदीलाई निमन्त्रणा दिने भएका हुन् । भारतको संस्थापन पक्ष अर्थात् प्रधानमन्त्री नरेन्द्र मोदीसँग संस्थापनको सम्बन्ध जुन बिन्दुबाट चिसिन सुरु भएको थियो, त्यहीँबाट सुधारको नयाँप्रक्रिया सुरु गर्दा नेपाल–भारत सम्बन्ध थप कसिलो बन्न सक्ने विश्वासका आधारमा प्रचण्डले मोदीलाई नेपाल भ्रमणको निम्ति विशेष आग्रह गर्ने भएका छन् । तर, मोदीको नेपाल आगमन हुने या नहुने भन्ने कुराको टुङ्गो राष्ट्रपतिहरूको भ्रमणपछि मात्र लाग्ने बताइएको छ । प्रधानमन्त्री मोदी नेपालको भ्रमण गर्न सधैँइच्छुक र उत्सुक रहने गरेको जानिफकारहरूको भनाइ छ । खासगरी नेपालको पवित्र धार्मिक स्थलहरूप्रति मोदी विशेष रूपमा आकर्षित र प्रभावित रहँदै आएका छन् । त्यसैले प्रचण्डको निमन्त्रणलाई स्वीकार गरेर मोदीको नेपाल आगमन हुने विश्वास गरिएको छ ।