महिला सङ्घमा मीना र उमा

महिला सङ्घमा मीना र उमा


भदौ २९ गतेदेखि सुरु हुन गइरहेको नेपाली काङ्ग्रेसको भगिनी सङ्गठन नेपाल महिला सङ्घको अधिवेशनका लागि महिलाबीच व्यापक प्रतिस्पर्धा हुने भएको छ । नेतृत्वका दुई खेमाबाट अध्यक्ष, महासचिव, कोषाध्यक्षसहितको प्यानलले उम्मेदवारी दिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको खेमाबाट नेतृ उमा रेग्मीलाई उम्मेदवार बनाइएको छ भने नेता रामचन्द्र पौडेलको खेमाबाट नेतृ मीना पाण्डे उम्मेदवार बनेकी छिन् । यी दुवै नेतृ पद्मकन्या क्याम्पसमा विद्यार्थी नेताको रूपमा स्थापित भई राजनीतिमा होमिएका हुन् । दुवै पूर्वसांसद पनि हुन् । सर्लाही राजनीतिक आधार भएकी मीना पाण्डे र चितवनकी उमा रेग्मी दुवैको नेपालको राजनीति र महिला आन्दोलनमा महत्वपूर्ण भूमिका छ ।

घटना र विचारसँग कुरा गर्दै अध्यक्षकी उम्मेदवार मीना पाण्डेले आफूले महिलाको सशक्तीकरण, समान सहभागिता र प्रतिनिधित्व तथा राजनीतिमा महिलाको पहुँच बढाउन भूमिका निर्वाह गर्ने बताउनुभयो । यसैगरी अध्यक्षकी अर्की उम्मेदवार उमा रेग्मीले भन्नुभयो– मेरो उम्मेदवारी महिलालाई अधिकारसम्पन्न बनाउन तथा संविधानमा भएका महिलासम्बन्धी प्रावधानलाई कार्यान्वयन गर्नका लागि हो । राज्यका हरेक संरचनामा महिलाको सहभागिताका लागि मेरो पहल रहनेछ । आफ्नै पार्टी र राज्यसत्तामा महिलाको अर्थपूर्ण सहभागिता र पहुँच बढाउन काम गर्नेछु ।

महासचिवको उम्मेदवार तय नभइसके पनि गोमा केसी, धन खतिवडा, इन्दिरा तिवारी, मञ्जु खाणलगायतको नाम चर्चामा छ । यसैगरी कोषाध्यक्षमा उषा रावतले उम्मेदवारी घोषणा गरेकी छिन् । सिरहा कार्यक्षेत्र भएकी उषा पत्रकार तथा सामाजिक कार्यकर्ता हुन् ।

अधिवेशनका लागि विभिन्न जिल्लाबाट महिला प्रतिनिधि राजधानीमा जम्मा भएका छन् । नेपाल महिला सङ्घमा करिब २२ सय ४४ प्रतिनिधि छन् । वि.सं. २००४ सालमा मंगलादेवी सिंहको पहलमा गठन भएको नेपाल महिला सङ्घको नेपालको महिला आन्दोलनमा ठूलो भूमिका छ ।