कस्मीर मामलामा भारतलाई प्रचण्डको साथ

कस्मीर मामलामा भारतलाई प्रचण्डको साथ


prachanda-and-modi

गत आइतबार कस्मीरमा भएको आतंककारी हमलाप्रति प्रधानमन्त्री पुष्पकमल दाहालले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरी दुःख प्रकट गरेका छन् । सोमबार साँझ भएको टेलिफोन वार्तामा प्रधानमन्त्री दाहालले कस्मीरमा भएको आतंकवादी हमला निन्दनीय रहेको भन्दै यस मामलामा आफू हरदम भारतको साथ रहेको अभिव्यक्ति समेत दिएका बुझिएको छ । दशक लामो सशस्त्र युद्धको नेतृत्व गर्दै त्यसैको जगमा सत्ताको कमाण्ड सम्हाल्न पुगेका प्रधानमन्त्री दाहालले कस्मीरमा भएको आतंकवादी घटनाको विरोध गर्दै आफू आतंकवादी क्रियाकलापको विपक्षमा रहनुका साथै कस्मीर मामलामा भारतको साथ रहेको भनी भारतीय प्रधानमन्त्रीसँग अभिव्यक्त भएको सन्दर्भलाई कैयनले आश्चर्यको रुपमा चित्रित गर्न खोजे पनि धेरैले सकारात्मक रुपमै लिएका छन् ।

ज्ञातव्य छ, भारत प्रशासित क्षेत्र कस्मीरको उरीको सैन्य क्याम्पमा गत आइतबार बिहान भएको आतंकवादी हमलामा १७ भारतीय सेना मारिएका थिए । उक्त हमलामा पाकिस्तानको हात रहेको आशंका गरिएको छ । आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच वाकयुद्ध चलिरहेको छ । सैन्य क्याम्पमा भएको सो घटना माफीलायक हुनै नसक्ने र पाकिस्तानकै कारण भएको जनाउँदै सीधै पाकिस्तानमाथि हमला गर्नुपर्ने प्रतिक्रिया कैयन भारतीयले दिएका छन् । भारतका विभिन्न ठाउँमा पाकिस्तानको विरोधमा हिंसात्मक घटनासमेत भएका छन् ।

कश्मीरमा आतंकवादी हमला हुनु केही समयअघि पाकिस्तानी रक्षामन्त्री ख्वाजा आसिफले आवश्यकता परे पाकिस्तानले परमाणु हमला गर्न सक्ने धारणा व्यक्त गरेका थिए । उनको सो भनाइ लगत्तै कश्मीरमा आतंकवादी हमला हुनु संयोग नभएको भन्दै भारत र पाकिस्तानबीचको ‘सम्भावित युद्ध’ बारे बहस समेत चुलिएको छ ।