आचार्य वीरेन्द्र बने जगद्गुरु

आचार्य वीरेन्द्र बने जगद्गुरु


birendra-kapar

आचार्य वीरेन्द्रलाई ‘विश्व शान्तिदूत तथा जगद्गुरु’को उपाधि प्राप्त भएको छ । विश्व हिन्दू महासङ्घ धर्मसभाको निर्णय र महन्थ सभाको सिफारिसमा उहाँ विश्व शान्तिदूत तथा जगद्गुरु बन्नुभएको हो । मान महन्थ जगन्नाथ दास वैष्णव अध्यक्ष रहनुभएको सभाको सिफारिसका साथ धर्मसभाले गरेको निर्णयलाई काशी विद्वत् परिषद्को महामहौपाध्याय गिरिधरी शर्माले पनि समर्थन जनाउनुभएको छ । गत साउनको तेस्रो साता धर्मसभाले आचार्य वीरेन्द्रलाई जगद्गुरुको उपाधि दिएपछि यसप्रकारको उपाधि प्राप्त गर्ने दोस्रो नेपाली उहाँ बन्नुभएको छ । यसअघि बाल सन्त मोहन शरणलाई सोही उपाधि प्राप्त भएको थियो । जगद्गुरुको उपाधि प्राप्त भएपछि बालसन्त मोहन शरणलाई सरकारले विभिन्न सेवा, सुविधा र सम्मान पनि उपलब्ध गराएको छ । सेवा र सुविधाबारे अनन्त श्री विभूषित विश्व शान्तिदूत जगद्गुरु वीरेन्द्र परंहंशको ध्यानाकर्षण गर्दा उहाँले भन्नुभयो, ‘मैले सरकारी सेवा र सुविधाको अपेक्षा राखेको छैन, विश्वमा शान्तिका लागि यज्ञ–यज्ञादी गराउने र नेपालमा धार्मिक पर्यटन विकासका लागि केही गर्ने मेरो सोच छ ।’

जगद्गुरु बनिसकेपछि उहाँलाई धर्मसभा सम्मेलन गराउने अधिकार प्राप्त भएको छ र उहाँ अब आफ्नो जातीय पहिचानबाट मुक्त हुनुभएको छ । बाल्यकालमा गोमन सर्पबाट समेत डसिएका उहाँ किशोरावस्थादेखि नै धार्मिक तथा सांस्कृतिक गतिविधिप्रति रुचि राख्ने गर्नुहुन्थ्यो । कुनै समय नेपाल विद्यार्थी सङ्घको राजनीतिमा समेत सक्रिय रहनुभएका उहाँ पछिल्लो समयमा ज्योतिषी र सनातनी अभियन्ताको रूपमा चिनिनुहुन्छ ।