नियात्राकार राजकर्णिकार सम्मानित

नियात्राकार राजकर्णिकार सम्मानित


shami-sahitya-news

शमी साहित्य प्रतिष्ठानले वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकारलाई ताम्रपत्र तथा एक लाख एक सय एक रुपैया नगद राशीसहित शमी साहित्य साधना सम्मानद्वारा सम्मानित गरेको छ । राजधानीमा आयोजित सम्मान प्रदान कार्यक्रममा प्रतिष्ठानले युवा वैज्ञानिक अमन पौडेललाई शमी युवा प्रोत्साहन पुरस्कार नगद २५ हजार एक सय एक रुपैया राशी सहित प्रदान ग¥यो भने सम समता लैङ्गीक पुरस्कारबाट २०७१ सालको लागि सिर्जना परियार र २०७२ सालका लागि राज ढुङ्गानालाई प्रदान गरियो । उक्त पुरस्कारको राशी २० हजार एक सय एक रुपैयाको रहेको छ ।

शमी साहित्य प्रतिष्ठानले यसअघि शमी साहित्य साधना सम्मान गणेशबहादुर प्रसाई, मंगलकुमार नेपाल, प्राडा मोहनहिमांशु थापा, वसन्तकुमार शम्र्मा नेपाल, तेजेश्वरबाबु ग्वगः र कृष्ण जोशीलाई प्रदान गरिसकेको छ भने शमी युवा प्रोत्साहन पुरस्कारबाट कुशल केसी, रिजन कार्की, राजेश श्रेष्ठ, पारस खडका र निमाछम्जी शेपा पुरस्कृत भइसकेका छन् ।

सम्मान कार्यक्रममा प्रमुख अतिथि नेपाल संगीत नाट्य प्रतिष्ठानका कुलपति सरुभक्तले नियात्रा लेखनका क्षेत्रमा निक्कै अघिदेखि सक्रिय घनश्याम राजकर्णिकारको नियात्रा पढेर नै नियात्रा पढने बानी बसेको बताउँदै शमी साहित्य प्रतिष्ठानले पनि शमी वृक्षले झैं सबैलाई छहारी प्रदान गरोस भन्ने शुभकामना दिए ।

प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालको सभापतित्वमा सम्पन्न कार्यक्रममा सम्मानित व्यक्तित्व घनश्याम राजकर्णिकार, अमन पौडेल, सिर्जना परियार, राज ढुङ्गाना, साझा प्रकाशनका अध्यक्ष तथा महाप्रवन्धक एवम् प्रतिष्ठानका संरक्षक डोलिन्द्रप्रसाद शर्मा, डा. चन्द्रा भद्रा, महिला तथा बालबालिका मन्त्रालयका सहसचिव राधिका अर्याल, श्रीओम श्रेष्ठ रोदन, ठाकुर बेलबासेलगायतले बोलका थिए ।

कार्यक्रममा युवा वैज्ञानिक अमन पौडेलले आफूले प्राप्त गरेको पुरस्कारको नगद राशीको आधा रकम महावीर पुनको संस्थालाई प्रदान गर्ने घोषणा गरे । कार्यक्रममा डोलिन्द्र शर्माका सुपुत्र शमी शर्माले आफ्नो जन्मदिनको अवसर पार्दै पवित्र सेवा समाज संचालन गर्दै आएकी दीक्षा चापागाईलाई नगद रु. १५ हजार प्रदान गरे भने सम्मानित व्यक्तित्व घनश्याम राजकर्णिकारले पनि दीक्षा चापागाईको संस्थालाई २० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरे ।