परराष्ट्रमन्त्री डा. महत द्विपक्षीय भेटवार्तामा व्यस्त

परराष्ट्रमन्त्री डा. महत द्विपक्षीय भेटवार्तामा व्यस्त


Minister for Foreign Affairs Prakash Sharan Mahat, US President Barack Obama

संयुक्त राष्ट्रसंघको ७१ औं महासभामा नेपाली प्रतिनिधिमण्डको नेताका रुपमा हाल अमेरिकामा रहनुभएका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत विभिन्न देशका प्रतिनिधिमण्डलका नेता एवम् समकक्षीहरुसँग द्विपक्षीय भेटवार्तामा व्यस्त हुनुहुन्छ । परराष्ट्रमन्त्री डा. महत राष्ट्रसंघीय महासभाअन्तर्गत आयोजना भइरहेका विभिन्न बैठकहरुमा सहभागिताका साथै विभिन्न देशका नेता तथा समकक्षीहरुसँग द्विपक्षीय भेटवार्तामा व्यस्त हुनुहुन्छ ।

मन्त्री डा. महतले गएराति पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफसँग भेटवार्ता गर्नुभयो । सो भेटका क्रममा उहाँहरुबीच पाकिस्तान र नेपालबीचको आपसी हितका साथै पाकिस्तानमा हुन गइरहेको सार्कको आसन्न १९ औँ शिखर सम्मेलनको तयारीका बारेमा पनि कुराकानी भएको थियो । साथै उहाँहरुबीच नेपालमा व्यापार र लगानी प्रवर्धनका बारेमा पनि छलफल भएको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।
यस्तै, मन्त्री महतले गएराति नै नर्वेका विदेशमन्त्री बोर्ज ब्रेन्डेसँग भेटवार्ता गर्नुभयो । त्यस अवसरमा दुई देशबीचको आपसी सम्बन्ध विस्तारका विभिन्न क्षेत्रमा कुराकानी भएको थियो । त्यस भेटका क्रममा उहाँले नर्वेली मन्त्री ब्रेन्डेले नेपालमा जारी रहेको पुनर्निर्माण कार्यको बारेमा चासो राख्नुभएको र त्यस बारेमा मन्त्री महतले पुनर्निर्माणका क्षेत्रमा पछिल्लो समयमा भएका कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो ।

त्यसैगरी मन्त्री डा. महतसँग एसिया तथा प्यासिफिक क्षेत्र हेर्ने बेलायती उपमन्त्री अलोक शर्माले भेट गर्नुभयो । उहाँहरुबीच नेपालमा पछिल्लो समयमा विकसित राजनीतिक घटनाक्रम, नेपालको व्यापार र लगानीको अवस्था र युरोपियन युनियनबाट हालै भएको बेलायतको बहिर्गमनबाट यसमा पर्ने प्रभावका साथै पूर्व गोरखा सैनिकको सेवा सुविधा आदिका बारेमा पनि कुराकानी भएको थियो ।

गएराति नै मन्त्री डा महत एसिया कोअपरेशन डायलगको मन्त्रीस्तरीय बैठकमा सहभागी हुनुभयो । सो क्रममा उहाँले संसारको कुनै पनि ठाउँको गरिबी सबैतिरका लागि धम्की हो भन्दै गरिबी निवारणका लागि कार्यक्रमहरु लक्षित गर्नुपर्नेमा जोड दिनुभयो । साथै उहाँले उर्जा, पर्यटन, सांस्कृतिक बिकासलगायतका क्षेत्रमा हुनसक्ने क्षेत्रीय विकासका बारेमा सोच्नुपर्ने बताउनुभयो ।

साथै उहाँले अतिकम विकसीत र भूपरिवेष्ठित राष्ट्रहरुको समतामूलक, समावेशी र दिगो विकासमा जोड दिन सबैसँग आग्रह पनि गर्नुभयो । यसअघि मन्त्री डा महत भूपरिवेष्ठित विकासशील राष्ट्रहरुको १५ औँ वार्षिक मन्त्रीस्तरीय बैठकमा सहभागी हुनुभयो । सो कार्यक्रममा संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि दुर्गा प्रसाद भट्टराईले यी देशहरुका लागि आवश्यक दिगो विकास तथा यस विषयमा अन्तर्राष्ट्रिय रुपमा लिइएका लक्षका बारेमा नेपालको भनाई राख्नुभएको थियो ।

यसअघि हिजो सार्कका विदेशमन्त्रीहरुको अनौपचारिक बैठक न्युयोर्कमा भएको थियो । त्यस बैठकको अध्यक्षता गर्दै मन्त्री डा. महतले नेपालमा केही महिनाअघि पोखरामा भएको सार्कका विदेशमन्त्रीस्तरीय बैठकले गरेका निर्णयहरुको कार्यान्वयनमा जोड दिनुभएको थियो ।