नर्भिकमा ‘मुटु’सम्बन्धी विशेष कार्यक्रम

नर्भिकमा ‘मुटु’सम्बन्धी विशेष कार्यक्रम


12-norvic

यस वर्षको विश्व मुटु दिवस असोज १३ गते बिहिबारका दिन पर्न गए पनि नर्भिक इन्टरनेशनल हस्पिटलले ८ गते शनिबारबाटै विविध कार्यक्रमका साथ विश्व मुटु दिवस मनाउने कार्यको थालनी गरेको छ ।

शनिबार आयोजित कार्यक्रममा नर्भिकमा गत वर्ष सफल मुटुरोग उपचार गराई स्वस्थ जीवन यापन गर्दै आएका बिरामीहरू सहित करिब २०० जना विशिष्ट व्यक्तित्वहरू सहभागी थिए । कार्यक्रमको प्रमुख आतिथ्य तथा सभापतित्व नर्भिक हस्पिटलका अध्यक्ष, कवि गीतकार वसन्त चौधरीले गरेका थिए । यस्तै, नेपाली मुटुरोग फाँटका सिद्धहस्त व्यक्तित्वहरू, वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. यादवदेव भट्ट, लगायत मुटुरोग शल्य चिकित्सक डा. ज्योतीन्द्र शर्मा, फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा. जे.पी. जैसवाल र पोषण विज्ञ प्रणीति सिंहले मुटुरोगका विविध विषयहरुमा प्रकाश पारेका थिए ।  

नर्भिकका वरिष्ठ मुटुरोग विशेषज्ञ तथा मुटुरोग विभागका निर्देशक प्रा. डा. यादवदेव भट्टको स्वागत मन्तव्यबाट शुभारम्भ गरिएको उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत डा. हरिन्द्र सिंहको धन्यवाद ज्ञापनबाट समापन भएको थियो । आफ्नो मन्तव्य राख्दै प्रा. डा. यादवदेव भट्टले नेपालमा मुटुरोग विधालाई विश्वस्तरीय पार्न विविध विशेषज्ञ सेवा थप गर्दै ‘इन्टेन्सिभ केयर स्पेशलिष्ट’को सेवा थप्ने, चिकित्सा सेवामा चिकित्सकहरूको समूहगत दृष्टिकोण अपनाइने र बिरामीको समग्र व्यवस्थापनका लागि एकस्थान मै सम्पूर्ण समाधान दिइने रणनीति अपनाइने बताए ।

विश्व मुटु महासंघको आह्वानमा हरेक वर्ष सेप्टेम्बर महिनाको २९ तारीख यो दिवस मनाइन्छ । सन् २००० को सेप्टेम्बर २४ तारीखदेखि मनाउन थालिएको यस दिवसले डेढ दशक पार गरिसकेको छ । विश्वव्यापी रुपमा बढ्दै गएको मुटुरोगबारे वृहत् जनचेतनाको अभिवृद्धि गर्नु÷गराउनु र रोग रोकथामका उपायहरू अवलम्बन गराउन जनमानसलाई अभिप्रेरित गराउनु नै यस दिवसको मुख्य उद्देश्य रहिआएको छ ।

सूर्ति तथा सूर्तिजन्य पदार्थको व्यापक प्रयोग, मधुमेह, अस्वस्थ आहार–व्यवहार, मद्यपान, उच्च रक्तचाप, उच्च रक्त कोलेस्टेरोल, ज्यादा मोटोपना, शारीरिक निस्क्रियता वा विलासपूर्ण जीवनशैलीका कारण विश्वभर नै अझ हालै आएर विकासोन्मुख राष्ट्रहरूमा मुटुरोगका बिरामीहरू बढ्दै गइरहेका छन् । हाल विश्वमा १ करोड ७३ लाखभन्दा बढी मानिसहरूले प्रत्येक वर्ष यस रोगका कारण ज्यान गुमाइरहेका छन् । नेपालमा पनि शहरी जनसंख्याको झण्डै ८ प्रतिशत मानिसहरू कुनै न कुनै प्रकारका मुटुरोगबाट ग्रसित छन् ।

विश्व मुटु दिवस मनाउने सिलसिलामा नेपाल लगायत विश्वका १५० भन्दा बढी देशहरूमा अर्थात् विश्वभर नै मुटुरोग परीक्षण शिविरहरू, रोगबारे जनचेतना तथा रोकथामका उपायहरूबारे प्रवचन तथा अन्य विविध कार्यक्रमहरू गर्ने गरिन्छ । यस वर्षको विश्व मुटु दिवसको नारा ‘आफ्नो जीवनलाई शक्ति दिउँ’ रहेको छ ।

नर्भिकमा गत वर्ष जटिल एन्जियोप्लाष्टी, प्राइमरी एन्जियोप्लाष्टी (व्यक्तिलाई हृदयाघात भएपछि जीवन बचाउन तत्कालै गरिने एन्जियोप्लाष्टी प्रक्रिया) र हृदयरोग शल्यक्रिया (वाइपास सर्जरी) गराई स्वास्थ्य लाभ गरिरहेका करिब १०० जना बिरामीहरु मध्ये १ दर्जनलार्ई सो अवसरमा सम्मान समेत गरिएको थियो । गत वर्ष नर्भिकमा जटिल मुटुरोगको सफल उपचार गराई स्वास्थ्यलाभ गरिरहेका जेष्ठ नागरिकहरूलाई समेत सभापति चौधरीले सम्मान गरेका थिए । हस्पिटलका विभिन्न विभागहरुमा रही वर्षभर उत्कृष्ट कार्य गर्दै मुटुरोग उपचारमा विशेष योगदान पु¥याउने कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रमका सभापति चौधरीले नर्भिक हस्पिटल एक नेपाली मुुटुले सारा नेपाली मुटुलाई दिएको उदाहरणको संज्ञा दिए । निकट भविष्यमै अत्याधुनिक प्रविधि र सुविधासम्पन्न २०० शय्याको हस्पिटल थप गरिने, १०० शय्याको साधनसम्पन्न क्यान्सर हस्पिटल थपिने र नर्भिकको विशेषज्ञ सेवालाई पोखरा र बिराटनगरमा समेत विस्तारित गरिने चौधरीले बताए । विश्व मुटु दिवसका अवसरमा थालनी गरिएको मुटुरोग परीक्षणका विशेष योजनाहरू एक सातासम्म सुचारु राखिने पनि नर्भिकले जनाएको छ ।