जिविस प्रमुखको कार्यकक्षमा ताला, सेवाग्राही मर्कामा

जिविस प्रमुखको कार्यकक्षमा ताला, सेवाग्राही मर्कामा


rupandehi


सार्वजनिक बिदाबाहेक अन्य दिन कार्यालय समयमा बन्द गर्न पाइँदैन

जिल्ला विकास समिति रुपन्देहीको विभिन्न अधिकृतहरुको कार्यकक्षमा तालाबन्दी गरिएको छ । रुपन्देहीका प्रमुख जिल्ला इन्जिनियर पुस्करप्रसाद पोखरेल, गुनासो सुन्ने अधिकारी योजना अनुगमन तथा प्रशासकीय अधिकृत विष्णुप्रसाद ढुंगाना र सूचना प्रकाशन तथा अभिलेख शाखा टोपलाल शर्माको कार्यकक्षमा ताला लगाइएको छ । जिल्ला विकास समितिको समिक्षा बैठकमा गएकाबेला तालाबन्दी गरेका हुन् । उक्त अधिकृतहरुको कार्यालय अगाडि राखिएको नेमप्लेटमा ‘भित्र’ भनिएको छ, तर ढोकामा ताला लगाइएको छ । सोमबार जिविसको समीक्षा गोष्ठी गएका बेला सेवाग्राहीलाई मर्कामा पर्ने गरि कार्यालयमा ताला लगाइ हिँडिएको छ । सरकारी कार्यालयमा सरकारले तोकेको सार्वजनिक बिदाको दिन बाहेक अन्य कुनै दिन कार्यालय समयमा ताला लगाउन पाइँदैन । कर्मचारी बाहिर गएको बेला बाहिर भनेर बोडमा राखिन्छ र कार्यालयका सम्बन्धीत कर्मचारीलाई सोही ठाउँमा राखी सेवाग्राहीलाई सेवा तथा सूचना दिनुपर्ने हुन्छ ।
आम नागरिक सरोकार मञ्च रुपन्देहीका संयोजक आनन्द प्रसाद गुप्ताको नेतृत्वमा गएको अनुगमन टोलिले यस्तो भेटाएको हो । उहाँ भन्नुहुन्छ– सर्वाजनिक बिदा बाहेक अन्य कुनै दिन कार्यालय समयमा कार्यकक्षमै ताला बन्द गरि हिँड्नु कर्मचारीको लापरवाही भएकोले यस्ता कर्मचारीलाई कारवाही गरिनु र स्थानीय विकास अधिकारीको सरुवा गरिनु पर्ने माग राखेका छन् ।

मर्चवारदेखि आएका राजकुमार गौण भन्छन्– समाजमा रहेका समस्या सम्बन्धित निकायमा राख्ने भन्दै हिजो असोज ९ गते र आज १० गते आउँदा सम्बन्धित व्यक्तिको कार्यकक्षमा ताला लगाएकोले आफूले भेट्न नसकेको गुनासो गरे । कार्यालयकक्षमा ताला लगाइएको छ त्यहाँ कार्यालय सहयोगी पनि छैनन् ।

संघीय समाजवादी फोरम नेपालका जिल्ला सदस्य सरोज कुमार पाण्डे धकधईबाट बाटो निमार्णको बारेमा जिविसमा बुझ्न आउँदा योजना प्रमुख, सूचना प्रमुख, इन्जिनियर प्रमुखको कार्यकक्षमा ताला बन्द गरि हिँड्नु सरकारी कर्मचारीको गैर जिम्मेबारीका कारण सर्वसाधारण जनताले दुःख पाउँदा समेत स्थानीय विकास अधिकारी मौन रहेकोले यस्ता प्रमुखको सरुवा हुनु पर्ने माग राखेका छन् । त्यस्तै धकधईबाट सेवा लिन आएका विद्या यादव भन्छन्– गाउँदेखी सेवाकोलागि यहाँ आइपुग्दा कार्यालयमा ताला लगाइएको छ । कार्यालय सहयोगी पनि छैन सम्बन्धित व्यक्ति कहाँ गए भन्ने सम्म थाहा छैन । अब हामी जस्ता सर्वसाधारण व्यक्ति कहाँ जाने ? उनले प्रश्न गरे ।

सरकारी कार्यालय सार्वजनिक बिदा बाहेक अन्य कुनै दिन पनि कार्यालय समयमा कार्यकक्षमा ताला बन्दि गर्न नपाउने रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी प्रेम लुइटेल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– लामो समयको बिदामा भएको भए सम्बन्धित कार्यकक्षमा कार्यालय सहयोगी राखेर वा बाहिर ढोकामा यहाँबाट हुने सेवा सुविधा निम्न कोठाबाट लिनुहोला भन्ने सन्देश मुलक सूचना टाँस गर्नु पर्ने छ । कुनै कार्यक्रम सभा गोष्ठीमा जाँदा यसरी प्रत्यक्ष असर पर्ने गरि बन्द गर्न पाइँदैन । कार्यालयका अधिकृतको कार्यकक्षमा लेखाशाखा तथा अन्य महत्वपूर्ण कागजात भएमा मात्र यस्तो गर्न मिल्छ तर सेवाग्राहीलाई समस्या पर्ने गरि बन्द गर्न पाइँदैन । तर सूचना अधिकृतको कार्यकक्षमा भने कार्यालय सहयोगी वा अन्य कर्मचारी खटाएर सेवा दिनु पर्ने हुन्छ । तर स्थानीय विकास अधिकारी युवराज सुवेदी सँग टेलिफोन सम्पर्क गर्दा उहाँ भन्नुहुन्छ– कार्यालयको कामले गर्दा बन्द गरिएको हो । सेवाग्राही सेवा लिन आएमा यही आएर सेवा लिन सक्छन् । त्यसपछि प्रमुख सुवेदी भने सम्पर्कमा आउन चाहनुभएन ।

रुपन्देहीको विभिन्न ठाउँबाट सेवालिन आएका सेवाग्राही अहिले अन्योलमा परेका छन् । कार्यालयको समीक्षा गोष्ठीमा जाँदा कार्यालय कक्षमा ताला लगाएर जाँदा सर्वसाधारण जनता प्रत्यक्ष मारमा परेका छन् ।

– पुनहरि बेल्बासे, भैरहवा