जापानमा थापाले दर्शाए राजसंस्थाप्रतिको अडान

जापानमा थापाले दर्शाए राजसंस्थाप्रतिको अडान


kamal-thapa

अर्पण खरेल (जापान) । नेपाल–जापान सम्बन्ध ६० बर्ष पूरा भएको उपलक्ष्यमा इवाते प्रिफेक्चरका गभर्नर ताकुयो तासुको निमन्त्रणामा सेप्टेम्बर २४ मा जापान आउनुभएका राप्रपा नेपालका अध्यक्ष पुर्वउपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा टोक्योमा भातृसंगठनको कार्यक्रम सकी इवाते प्रिफेक्चरका गभर्नरद्वारा आयोजित विशेष कार्यक्रममा सहभागी भएका छन् ।

इवाते गभर्नर कार्यालयमा आयोजित विशेष कार्यक्रममा थापाले प्रमुख वक्ताको रुपमा सम्बोधन गर्दै जापानका लगानीकर्ताहरूलाई नेपालमा लगानीको लागी आव्हान गरे । सम्बोधनको क्रममा अध्यक्ष थापाले गत वर्ष नेपालमा गएको महाभूकम्प, त्यसको प्रभाव, पुनर्निर्माणको अवस्था, वर्तमान नेपालको राजनीतिक परिस्थिति र नेपाल जापान बीचको मैत्री सम्बन्धको बारेमा प्रकाश पारेका थिए । महाभूकम्पपछि नेपाली जनतालाई जापानले तत्काल पु¥याएको भौतिक तथा आर्थिक सहयोगको स्मरण गर्दै नेपालको आर्थिक विकासमा जापानको सहयोग महत्वपुर्ण रहेको उल्लेख गरे ।

कार्यक्रममा उपस्थित जापानी तथा नेपाली विद्यार्थीहरूले भूकम्प तथा अन्य प्राकृतिक विपत्तिहरूको बारेमा राखेका विभिन्न जिज्ञासाको पनि प्रमुख अतिथि थापाबाट सम्बोधन भएको थियो । विभिन्न देशका विद्यार्थी, मोरिओका क्षेत्रका ब्यवसायी, विशिष्ट ब्यक्तिहरूसहित उत्साहजनक रुपमा जापानी नागरिकहरुको सहभागिता रहेको कार्यक्रममा प्रमुख वक्ताको रुपमा थापाको ४५ मिनेटको बिशेष सम्बोधन अभिरुचीपुर्वक सबैले सुनेका थिए ।

यसअघि जापानमा सक्रिय रहेको ओनो जापानको टोक्यो अधिवेशनको कार्यक्रममा थापाले कुनै पनि देश सदियौँदेखि कायम रहेका धर्म, संस्कृति, एतिहासिक धरोहरको संरक्षणबिना अघि बढ्न नसक्ने भन्दै पार्टीको एजेन्डा हिन्दुराष्ट्र र राजसंस्थाको विषयमा पार्टीको अडान अविचलित रहेको स्पष्ट पारेका थिए । बिहिबार जापानका परराष्ट्रमन्त्रीसँगको भेटपछि थापा आगामी शुक्रबार नेपाल फर्कने कार्यक्रम रहेको छ ।